
काठामाडौं । जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज (जेजीआई) ले चालु आर्थिक वर्षको ९ महिनामा १० अर्ब रुपैयाँको व्यापार गरेको छ।
ग्रुप र सहायक गरी दुई कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १० अर्ब ६० लाख रुपैयाँको व्यापार गरेको हुन् ।
जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजले चालु आवको ९ महिनामा ८ अर्ब ८१ करोड ४० लाख रुपैयाँ र ग्रुपद्वारा नै सञ्चालित विजय डिष्टिलरीले सो अवधिमा १ अर्ब १९ करोड २० लाख रुपैयाँ गरी १० अर्ब ६० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
सन् २०१६ मा स्थापना भएको जेजीआईले नेपाली बजारमा विभिन्न ब्राण्डको मदिरा उत्पादन गरी बिक्री गर्दै आएको छ ।जेजीआईले विजय एसियन, हिमालय र रोल्वालिङ गरी चारवटा मदिरा उद्योग सञ्चालन गर्दै आएको छ । साथै अर्को राज ब्रुअरी उद्योग पनि जेजीआई अन्तर्गत नै सञ्चालित कम्पनी हो ।
जेजीआईले गत आवमा ११ अर्ब ७१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा १३ अर्ब ६२ करोड ५० लाख, सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख र सन् २०२१ मा १४ अर्ब ५० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतले घटेको छ । सन् २०२३ मा २० प्रतिशतले आम्दानी घटेको थियो । त्यस्तै चालु आवको ९ महिनाको अवधिमा पनि सन् २०२४ को सोही अवधिको तुलनामा ८ प्रतिशत कम व्यापार भएको कम्पनीले जनाएको छ ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । दीर्घकालीन कर्जाका लागि ४ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँ रेटिङ गराएको हो ।
जेजीआईले ग्रुप अन्तर्गत ८ वटा कम्पनी सञ्चालित छन् । ग्रुपको अधिकांश उद्योग मदिराजन्य र एउटा रिसर्च युनिट रहेको छ । ग्रुपले ४० युपी ब्राउन स्पिरिट सेग्मेन्टबाट उच्च व्यापार गर्दै आएको छ । कम्पनीले सो उत्पादन गोल्डेन ओक ब्राण्डमा नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीकाअनुसार सन् २०२४ मा गरेको व्यापारमध्ये ६२ प्रतिशत आम्दानी गोल्डेन ओक, ब्ल्याक ओ र अन्यबाट भएको छ । त्यसपछि २८ प्रतिशत ह्वाइट स्पिरिट अर्थात् भोड्का, जीन र ऐलाबाट भएको कम्पनीको भनाइ छ । त्यसबाहेक कम्पनीले १० प्रतिशत आम्दानी बियर सेग्मेन्टबाट गरेको जनाएको छ ।
कम्पनीले सन् २०२४ मा गोल्डेन ओक र ब्लु डाइमन्ड जीनबाट मात्रै ६६ प्रतिशत आम्दानी गरेको उल्लेख गरेको छ ।
त्यस्तै, ग्रुपद्वारा सञ्चालित विजय डिस्टिलरीले चालु आवको ९ महिनामा उच्च व्यापार गरेको छ । डिष्टिलरीले सो अवधिमा १ अर्ब १९ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।
डिस्टिलरीले सन् २०२४ मा १ अर्ब १० करोड रुपैयाँको मात्रै व्यापार गरेको थियो । ग्रुपको सहायक कम्पनीको रुपमा रहेको कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड ९० लाख, सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख र सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले विदेशी ब्राण्ड मदिरा स्की भोड्का नेपाली बजारमा बिक्री गर्दै आएको छ । त्यससँगै गोल्डेन ओक, कालापत्थर, हिमालय ब्राण्डी, क्राउन रोयल ब्राण्डको मदिरा ब्राउन स्पिरिट सेग्मेन्टमा व्यापार गर्दै आएको छ । साथै, ह्वाइट स्पिरिटमा रुस्लान भोड्का, ब्लु डाइमण्ड जी र स्वान भोड्काको व्यापार गरिरहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९१ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५० करोड ७० लाख र अल्पकालीन कर्जाका लागि ४० करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको व्यापार सन् २०२४ मा ४८ प्रतिशतले कमी आए पनि चालु आवमा भने केही बढेको देखिएको छ । जसमा सन् २०२४ को ९ महिनाको अवधिको तुलनामा सन् २०२५ मा ५७ प्रतिशतले बढेको उल्लेख छ ।
कम्पनीमा विजयकुमार शाह र राज शाहको स्वामित्व रहेको छ । करिब चार दशकदेखि मदिरा क्षेत्रमा काम गर्दै आएका शाह नेपाली मदिरा उत्पादन क्षेत्रका बादशाह हुन् । कम्पनीको देशभर ५ वटा वायरहाउ र २ सय ४० वटाभन्दा बढी डिलर छन् ।







प्रतिक्रिया