ट्रम्पको आयातकर धम्कीपछि चीनको प्रतिक्रिया


एजेन्सी । चीनले ब्रिक्स समूह कसैसँग पनि भिडन्त गर्नका लागि नबनाइएको बताएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिक्ससँग जोडिने मुुलुकहरूका विरुद्ध अतिरिक्त १० प्रतिशत कर लगाइने चेतावनी दिएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।

सोमवार पत्रकारहरूको प्रश्नको उत्तर दिँदै चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले व्यापारयुद्ध र आयातकर युद्धमा कसैको पनि विजय नहुने र संरक्षणवादी आर्थिक नीतिले कसैलाई अघि नबढाउने विषयमा चीन स्पष्ट रहेको बताइन् ।

ब्रिक्स उदीयमान बजार र विकासशील मुलुकहरूबीच सहकार्यको महत्त्वपूर्ण मञ्च भएको भन्दै बेइजिङले प्रतिरक्षा गरेको छ । ब्रिक्सले खुलापन, समावेशिता र सबैको जीत हुने गरी सहकार्यलाई पैरवी गरिरहेको माओको भनाइ छ ।

यो खेमाबन्दीका साथ भिडन्त गर्नका लागि नबनाइएको र कुनै देशविरुद्ध लक्षित पनि नरहेको उनको भनाइ छ ।

ट्रम्पले ब्रिक्स सदस्य राष्ट्रहरू अमेरिकाविरोधी भएको आरोप लगाउँदै १० प्रतिशत अतिरिक्त करको घोषणा गरेका हुन् । रियो द जेनेरोमा ब्रिक्स मुलुकहरूले ट्रम्पको कर नीतिको आलोचना गरेपछि आक्रोशित हुँदै उनले यस्तो बयान दिएका हुन् ।

द्रुत गतिमा विकास भइरहेका अर्थतन्त्रहरूको समूहका रूपमा स्थापित ब्रिक्सलाई अमेरिकी र पश्चिम युरोपेली शक्तिलाई सन्तुलनमा राख्ने चिनियाँ नेतृत्वको वैकल्पिक शक्तिका रूपमा हेरिएको छ ।