दलाई लामाको उत्तराधिकार चयन प्रक्रिया तिब्बतभित्रै हुनुपर्ने चीनको अडान


एजेन्सी । चीनले दलाई लामाको उत्तराधिकार चयन प्रक्रियामा कुनै पनि विदेशी संलग्नता सह्य नहुने भनी कडा चेतावनी दिएको छ ।

पुनर्जन्म प्रक्रिया आन्तरिक मामिला भएको र यो तिब्बतभित्र मात्र हुुनुपर्ने चीनको भनाइ छ ।

भारतका लागि चीनका राजदूत सु फेहोङले सामाजिक सञ्जालमा आइतवार राति सन्देश पोस्ट गर्दै यस विषयमा टिप्पणी गरेका हुन् ।

उनका अनुसार, चीनले दलाई लामाको पुनर्जन्म प्रक्रियामा हस्तक्षेप गर्ने विदेशी व्यक्ति वा संस्थाको प्रयासलाई चीन सरकारले विरोध गर्ने बताए । तिब्बती बौद्ध धर्मको उत्पत्ति चीनको छिङ्हाई तिब्बत पठारमा भएको बताउँदै उनले यसका प्रमुख केन्द्रहरू चीनभित्रै रहेको दाबी गरे । दलाई लामाको परम्पराले चीनको तिब्बत क्षेत्रमा आकार लिएको र त्यहीँ विकसित भएको उनको भनाइ छ ।

तिब्बतलाई चीनले सिजाङ भन्ने गरेको छ र सिजाङ चीनको अभिन्न अंग भएको बताउँदै आएको छ ।

यसअघि भारतका अल्पसंख्यक मामिलामन्त्री किरण रिजिजुले दलाई लामालाई आफ्नो उत्तराधिकारी छान्ने अधिकार रहेको टिप्पणी गरेका थिए । त्यसैलाई सन्दर्भ बनाउँदै राजदूत सुले दलाई लामाको छनोट प्रक्रिया तिब्बतमा हुनुपर्ने बताएका हुन् । पछि रिजिजुले त्यो भनाइ व्यक्तिगत भएको स्पष्ट पारे । भारतको विदेश मन्त्रालयले पनि रिजिजुको भनाइ भारतको आधिकारिक कथन नभएको जनाएको छ ।

सुले धर्मगुरुहरूको पहिचान गर्ने अधिकार चीन राज्यसँग मात्र रहेको बताए । दलाई लामाको पुनर्जन्म र उत्तराधिकार छनोट चीनको आन्तरिक मामिला भएकोमा उनले जोड दिए ।

बेइजिङले चीनभित्र रहेका धार्मिक संस्थाहरूमाथि नियन्त्रण कायम गरेको तथ्यलाई स्मरण गराउँदै सुले दलाई लामा लगायतका बोधिसत्त्वहरूको पुनर्जन्म प्रक्रिया चिनियाँ कानूनबमोजिम हुने बताए । यसमा कुनै पनि बाहिरी शक्तिको हस्तक्षेप नहुने उनको भनाइ छ ।