चीनले बनायो शक्तिशाली क्वान्टम रेडार, गोप्य रूपमा उड्ने शत्रुको विमानलाई सजिलै पत्ता लगाउन सकिने


एजेन्सी । चीनले ३५० किलोमिटर टाढा गोप्य रूपमा उडिरहेको स्टेल्थ एयरक्राफ्टलाई पनि पत्ता लगाउन सक्ने क्वान्टम रेडार बनाएको छ ।

चङ्तु नजिक रहेको सैन्य अनुसन्धान केन्द्रमा चिनियाँ भौतिकशास्त्रीहरूले ३५० किलोमिटर टाढा गोप्य रूपमा उडिरहेको ड्रोनलाई पनि क्वान्टम रेडारको सहायताले सजिलै पत्ता लगाएका थिए । त्यसक्रममा रेडारले परम्परागत रेडियो वेभ फ्याँकेको थिएन ।

यस रेडार प्रणालीमा माइक्रोवेभ फोटोनहरूको जालो हुन्छ र त्यसले छैटौं इन्द्रियको जस्तो काम गर्छ । परम्परागत रेडारले सिग्नल फालेर अर्को पक्षबाट सिग्नलको प्रतीक्षा गर्छ भने क्वान्टम रेडार गोस्ट इमेजिङमा निर्भर हुन्छ ।

स्टेल्थ प्रविधिमा रेडियो वेभहरूलाई कि त छरिन्छ कि त सोसिन्छ । तर, क्वान्टम रेडारलाई सिग्नल रिफ्लेक्शन नै आवश्यक पर्दैन । यसले इन्ट्यांगल्ड फील्डमा भएका परिवर्तनहरूलाई पत्ता लगाइदिन्छ ।

ड्रोनमा स्टेल्थ पोलिमरले पोतिएको भए पनि त्यसको रेडार सिग्नेचरलाई क्वान्टम रेडारले पत्ता लगाइदिएको थियो ।

युनिभर्सिटी अफ साइन्स यान्ड टेक्नोलोजी अफ चाइना र रक्षा क्षेत्रको प्रयोगशालाले मिलेर यो रेडार बनाएका हुन् । लामो दूरीमा र वास्तविक वातावरणमा क्वान्टम डिटेक्शनले काम गरेको यो पहिलोपटक हो ।

यसलाई चीनले आफ्नो हतियार प्रणालीमा राखेमा स्टेल्थ युद्ध गर्न सम्भव हुने छैन । यसले सिग्नल स्ट्रेन्थलाई भन्दा पनि इन्ट्यांगलमेन्टलाई पत्ता लगाइदिने भएकाले त्यसलाई ब्लक गर्नै मिल्दैन ।

अमेरिकाले स्टेल्थ लडाकू विमानमा गर्व गर्दै आएको छ । बी–२ स्पिरिट, एफ–२२ र्‍याप्टर र एफ–३५ लाइटनिङ दोस्रो लगायतका अमेरिकी लडाकू विमानले स्टेल्थ प्रविधि उपयोग गर्ने गरेका छन् । चीनको क्वान्टम रेडारले तिनलाई पनि सजिलै पत्ता लगाइदिन्छ । अब अमेरिकाले पनि क्वान्टम प्रविधि विकासमा जोड दिनुपर्ने भएको छ ।

आउँदो समयमा क्वान्टम युद्ध हुन सक्ने विज्ञहरूले बताएका छन् ।

तस्बिर स्रोत : Stephan Widua/Unsplash