
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाविरोधी नीति अपनाउने सबै मुलुकहरूका विरुद्ध नयाँ आयातकर लगाइने चेतावनी दिएका छन् ।
ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सलाई समर्थन गर्ने मुलुकहरूलाई नयाँ आयातकरको धम्की दिएका हुन् ।
त्यससँगै उनले अर्को पोस्टमा सोमवारदेखि विभिन्न मुलुकहरूलाई आयातकर सम्बन्धी पत्र पठाउन थाल्ने जानकारी पनि दिएका छन् ।
ब्रिक्समा जोडिन खोज्ने सबै मुलुकमाथि १० प्रतिशत अतिरिक्त कर लगाइने ट्रम्पको भनाइ छ । यसमा कुनै छुट नहुने उनले बताए । ब्रिक्सले अमेरिकाविरोधी नीतिहरू अपनाइरहेको आरोप ट्रम्पले लगाएको भए पनि कुन चाहिँ नीतिलाई उनले इंगित गर्न खोजेको स्पष्ट छैन । यसअघि ट्रम्पले ब्रिक्सविरुद्ध १०० प्रतिशत कर लगाइने बताएका थिए ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले सुरु गरेको ब्रिक्स समूहमा थप पाँच मुलुक सदस्य बनेका छन् भने अन्य १० मुलुकहरू पार्टनरको हैसियतमा छन् । ब्रिक्स सदस्यहरूले वर्तमान विश्वको बहुध्रुवीय आर्थिक वास्तविकतालाई प्रतिनिधित्व गर्ने गरी शक्ति विकेन्द्रीकरण गर्नुपर्ने माग राख्दै आएका छन् ।
ब्राजिलमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणा गरिएको छ र त्यसमा एकपक्षीय आयातकर र गैर आयातकर व्यवस्थाका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको छ । ट्रम्प प्रशासनको व्यापार नीतिलाई अप्रत्यक्ष रूपमा व्यंग्य गरिएको छ ।
ट्रम्प प्रशासनले आयातकरमा लगाएको ९० दिने रोक बुधवार अन्त्य हुँदैछ । त्यसलाई विचार गर्दै ट्रम्पले दर्जनौं मुलुकहरूलाई सोमवारदेखि पत्र पठाइने पुष्टि गरेका छन् ।
अमेरिकाका ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले अमेरिकासँग सम्झौता नगर्ने मुलुकहरूका लागि अप्रिल महिनामा लगाइएको स्तरको चर्को आयातकर लगाइने बताएका छन् ।
ट्रम्पले अहिलेको १० प्रतिशत बेसलाइन भन्सार दर वा ७० प्रतिशतसम्मको कर लगाइने संकेत दिएका छन् । तर, बेसेन्टले अमेरिकासँग व्यापार गर्ने प्रमुख साझेदारहरूलाई ७० प्रतिशत कर नलगाइने बताएका छन् ।








प्रतिक्रिया