ट्रम्पलाई ह्वाइट हाउसमा भेट्दै नेतान्याहु, गाजामा युद्धविराम हुने आशा बढ्दै



एजेन्सी । गाजामा विगत २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य हुने सम्भावना बढेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेट्दा यस विषयलाई मूर्त रूप दिने अपेक्षा गरिएको छ ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै द्वन्द्व अन्त्य गर्ने विषयमा आफूले नेतान्याहुसँग दह्रो अडान लिएको र यसै साता सम्झौता हुने बताए ।

अमेरिकाले ६० दिनको युद्धविरामका लागि गरेको प्रस्तावमा इजरायल र हमासबीच अप्रत्यक्ष कुराकानी भइहेको छ । हमासले कब्जामा लिएका व्यक्तिहरूको मुक्तिका लागि आइतवार बेलुकादेखि कतारमा वार्ता चलिरहेको छ ।

तर, दुई पक्षबीच रहेका मतभिन्नताका कारण सहमति बन्न सकेको छैन ।

इजरायलले हमासका बन्दीहरूको रिहाइका लागि अस्थायी युद्धविराम गर्ने प्रतिबद्धता जाहेर गरेको भए पनि युद्ध अन्त्य गर्न मानेको छैन । हमासले चाहिँ गाजामा पूर्ण युद्धविराम हुनुपर्ने र सबै इजरायली सैनिकहरू त्यहाँबाट हट्नुपर्ने माग राख्दै आएको छ ।

हमाससमक्ष गरिएको नयाँ प्रस्तावमा वाशिङटनले सम्झौता कायम रहने प्रतिबद्धता जाहेर गरेको बताइन्छ । दीर्घकालीन युद्धविराम तथा सबै बन्दीहरूको रिहाइका लागि वाशिङटनले वार्ताको ग्यारेन्टी पनि दिएको बताइएको छ ।

यस विषयमा आधिकारिक घोषणा गरिएको छैन । तर, सञ्चारमाध्यमहरूमा आएको खबरअनुसार, हमासले २८ जना बन्दीहरूलाई पाँच चरणमा गरी ६० दिनभित्र रिहाइ गर्ने कुरा छ । तीमध्ये १० बन्दी जीवित छन् भने १८ जनाको मृत्यु भइसकेको छ ।

त्यससँगै गाजामा मानवीय सहायताको मात्रा व्यापक रूपमा बढाइनेछ ।

सहमति भएकै दिन ८ जना जीवित बन्दीहरूलाई हमासले रिहा गरेपछि इजरायली सैनिकहरू उत्तरी भागबाट हट्नेछन् । त्यसको एक हप्तापछि इजरायली सेना दक्षिणी भागबाट पनि हट्नेछ ।

१०औं दिनमा हमासले कुन बन्दीहरू जीवित छन् र तिनको अवस्था कस्तो छ भनी विवरण दिनेछ । उता इजरायलले युद्धको समयमा पक्राउ गरेका २ हजारभन्दा बढी गाजावासीहरूको विवरण उपलब्ध गराउनेछ ।

बन्दीहरूको रिहाइका लागि इजरायलले विशाल संख्यामा प्यालेस्टाइनीहरूलाई जेलबाट रिहा गर्नेछ ।

तर, प्यालेस्टाइनीहरूले युद्धविरामका विषयमा झिनो आशा मात्र राखेका छन् । दिनदिनै इजरायलबाट हुने बम प्रहारका कारण प्यालेस्टाइनीहरूको जीवन जोखिममा छ । हमासको कब्जामा रहेका बन्दीका परिवारले पनि युद्धविरामबाट खासै आशा गरेका छैनन् ।

हमासले इजरायलमाथि २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको बदला लिन इजरायलले गाजामा युद्ध सुरु गरेको थियो । इजरायली आक्रमणमा परेर गाजामा ५७ हजारभन्दा बढीको ज्यान गइसकेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।