स्वर्णिम होटलले ९ महिनामा गर्‍यो साढे १७ करोडको व्यापार


काठमाडौं । काठमाडौंको नक्सालमा रहेको स्वर्णिम होटलले चालु आर्थिक वर्षको ९ महिनामा साढे १७ करोड रुपैयाँको व्यापार गरेहेको छ ।

होटलले चालु आवको ९ महिनामा १७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४ मा ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१२ मा स्वर्णिम बुटिक होटलको नाममा स्थापना भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत गरी स्वर्णिम होटल लिमिटेड बनाएको छ । इन्टरकन्टिनेन्टल होटल ग्रुपको अन्तर्राष्ट्रिय ब्राण्ड होलिडे इन एक्प्रेससँग व्यवस्थापनको सम्झौता गरेको होटलले नक्सालमा होलिडे इन एक्सप्रेस काठमाडौं ब्राण्डमा सेवा सुविधा दिँदै आएको छ ।

होटलमा एक सयवटा कोठाको सुविधा रहेको छ । ९९ वटा डिलक्स रुम र एउटा सुईट रुमको सुविधा दिँदै आएको होटलले सन् २०२३ को डिसेम्बरबाट व्यवसायिक कारोबार सुरु गरेको थियो ।

नरेशलाल श्रेष्ठको ३८ प्रतिशत स्वामित्व रहेको होटलले दीर्घकालीन कर्जाका लागि ९७ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।