
एजेन्सी । फेसबूकको माउ कम्पनी मेटाका प्रमुख मार्क जकरबर्गलाई ह्वाइट हाउसबाट बाहिर जान लगाइएको काण्डको गत साता खुलासा भएको छ ।
सन् २०२५ को सुरुतिरै जकरबर्ग एफ–४७ स्टेल्थ लडाकू विमानका विषयमा चर्चा हुँदै गर्दा ओभल अफिस पुगेका थिए । त्यस्तो संवेदनशील बैठकमा उनी अनायासै पुगेपछि उनलाई बाहिर जान भनिएको थियो ।
एनबीसी न्युजले नाम नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै यस विषयमा गत साता रिपोर्टिङ गरेको थियो ।
तर, ह्वाइट हाउसले यसको खण्डन गरेको छ । जकरबर्गलाई ओभल अफिस छोडेर जान नभनिएको तर उनी राष्ट्रपतिको आग्रहमा एकछिनका लागि ओभल अफिसमा पसेर अर्को निर्धारित बैठकमा भाग लिन गएको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।
ह्वाइट हाउसको स्पष्टीकरण आएको भए पनि डोनल्ड ट्रम्पको नेतृत्वमा ओभल अफिसको सुरक्षा प्रबन्ध कमजोर भएको भनी आलोचना गरिएको छ । यसले ट्रम्प प्रशासनमा जकरबर्गको निर्बाध पहुँचलाई पनि प्रकाशमा ल्याएको छ ।
ट्रम्पसँग नजिकिनका लागि जकरबर्गले मेटामा कन्जर्भेटिभ विषयलाई प्राथमिकता दिन थालेका छन् ।
तर, यस प्रकरणले प्रविधि क्षेत्रका अर्बपतिहरूको राजनीतिक प्रभावका विषयमा पनि प्रश्न उठाएको छ ।
जकरबर्ग अनायास पुगेको बैठकको समय वा एजेन्डाका विषयमा आधिकारिक दस्तावेज सार्वजनिक भएको छैन । तर, गैरसैन्य प्रविधि कम्पनीका कार्यकारी प्रमुखले गोप्य सैन्य बैठकमा जानाजान वा भूलवश प्रवेश पाउनु आफैंमा आश्चर्यको विषय हो ।
ओभल अफिसमा भिजिटर प्रोटोकल र राष्ट्रिय सुरक्षा बैठकको संवेदनशीलता बलियो हुनुपर्ने विज्ञहरूको भनाइ छ ।
मेटाले यस विषयमा टिप्पणी गरेको छैन ।
तस्बिर स्रोत: Samuel Corum/Getty Images








प्रतिक्रिया