आफू अझै ४० वर्ष बाँच्ने दलाई लामाको भनाइ, चीनलाई उत्तराधिकारी छान्न नदिने


एजेन्सी । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफू अझै ४० वर्ष बाँच्ने आशा गरिरहेको बताएका छन् ।

आइतवार दलाई लामाको ९०औं जन्मदिन पर्छ ।

त्यसको पूर्वसन्ध्यामा उनले आफू १३० वर्षसम्म बाँच्ने आशा गरेको बताए । उनको मृत्युपछिको उत्तराधिकारी घोषणा हुने अनुमान भइरहेको बेलामा यस्तो टिप्पणी आएको हो ।

शनिवार उनका अनुयायीहरूले दलाई लामाको दीर्घ जीवनका लागि प्रार्थना समारोह राखेका थिए । उक्त अवसरमा मन्त्रपाठ गर्नुका साथै ढोल र तुरहीहरू बजाइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै उनले अहिलेसम्म आफूले राम्रो काम गरिरहेको र अवलोकितेश्वरका आशीर्वादले अर्को ३० देखि ४० वर्ष बाँचेर प्राणी तथा बौद्ध धर्मको सेवा गरिरहने आशा गरेको बताए ।

विगतमा रोयटस समाचार संस्थासँग कुराकानी गर्दै दलाई लामाले ११० वर्षको उमेरसम्म बाँच्ने बताएका थिए ।

प्राचीन परम्परा अनुसार आफ्नो उत्तराधिकारी छान्ने उनको भनाइ छ ।

गत बुधवार दलाई लामाले उत्तराधिकारी छान्ने जिम्मेवारी गादेन फोद्राङ फाउन्डेशनसँग मात्र रहेको र अरू कसैले पनि यस विषयमा हस्तक्षेप गर्न नपाउने धारणा राखेका थिए । यसो भनेर उनले चीन सरकारलाई संकेत गरेका हुुन् ।

चीनले दलाई लामालाई पृथक्तावादी भन्दै आएको छ । दलाई लामाको उत्तराधिकारी चयन चिनियाँ कानूनबमोजिम हुनुपर्ने जनाएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सुवर्ण कलशबाट चिट्ठा झिकेर दलाई लामाको छनोट गरिने बताइन् ।

चीनसँग उक्त सुवर्ण कलश छ । तर, त्यसलाई बेइमानीपूर्वक उपयोग गरिएमा त्यसको कुनै आध्यात्मिक महत्त्व नहुने भनी दलाई लामाले चेतावनी दिएका छन् ।