
एजेन्सी । अमेरिकी अर्बपति इलोन मस्कले नयाँ राजनीति दल खोल्ने घोषणा गरेका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पसँग मतभेद भएपछि उनले नयाँ दल खोल्ने भएका हुन् । ट्रम्पले ल्याएको कर तथा खर्च विधेयकको चर्को विरोध गरेका मस्कले उक्त विधेयक कानून बनेपछि नयाँ पार्टी खोल्ने प्रतिज्ञा पूरा गर्न लागेका हुन् ।
उनले नयाँ दलको नाम अमेरिका पार्टी राखेका छन् ।
मस्कका अनुसार, अमेरिकालाई अनावश्यक खर्च र भ्रष्टाचारमार्फत खोक्रो बनाउनका लागि रिपब्लिकन र डेमोक्रेटिक पार्टी एकै ठाउँमा उभिएर एकदलीय व्यवस्था जस्तो बनाएका छन् र यो लोकतन्त्र हैन ।
ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानमा सबभन्दा धेरै चन्दा मस्कले नै दिएका थिए । उनी अमेरिकी सरकारको खर्चकटौती गराउन डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीको प्रमुख बनेका थिए । तर, ट्रम्पको खर्च विधेयकले खर्बौं डलरको बजेट घाटा गराउने भन्दै उनले विरोध चर्काएका हुन् ।
मस्कको विरोधबाट आक्रोशित ट्रम्पले उनलाई दक्षिण अफ्रिका फर्काउनुपर्ने र उनले पाएको सबै सरकारी ठेक्का रद्द गर्नुपर्ने बताएका थिए । पछि मस्क अलिक शान्त हुँदै ट्रम्पविरुद्ध लेखिएका पोस्टहरू हटाएका थिए ।
मस्कले नयाँ दल खोल्नका लागि कस्तो कदम चालेका छन् भन्ने स्पष्ट छैन । उनले संघीय निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने हुन्छ ।
उनले आर्थिक रूपमा कन्जर्भेटिभ पार्टी खोल्ने संकेत दिएका छन् । सरकारी खर्चमा लगाम लगाउने उनको योजना छ । तर, नयाँ दलका अन्य एजेन्डा स्पष्ट छैनन् ।
अमेरिकामा दुई दलीय प्रणालीलाई रिपब्लिकन र डेमोक्रेट दुवैले आलोचना गर्दै आएका छन् । तर, तेस्रो दल खोल्ने प्रयासले खासै सफलता पाएको छैन ।
यसअघि अर्बपति रोस पेरोले सन् १९९२ मा स्वतन्त्र उम्मेदवारका रूपमा राष्ट्रपति निर्वाचन लडेका थिए । उनले लोकप्रिय मतको २० प्रतिशत जितेको भए पनि कुनै पनि राज्यमा जीत हासिल गर्न सकेका थिएनन् ।
निर्वाचन अभियान सम्बन्धी विज्ञहरूले अमेरिकामा नयाँ पार्टी खोल्न आर्थिक र कानूनी रूपमा निकै कठिनाइ छ । त्यसमाथि मतदाता र उम्मेदवारहरू नयाँ दलसँग जोडिन हिचकिचाउने गरेका छन् ।
मस्कले सामाजिक सञ्जालमा विभिन्न पोस्ट गर्दै आफ्नो दलले अर्को वर्ष हुने मध्यावधि निर्वाचनमा सक्रिय सहभागिता जनाउने जानकारी दिएका छन् । नयाँ दलले सुरुमा हाउस र सिनेटका केही उम्मेदवारलाई मात्र समर्थन गर्ने उनको भनाइ छ ।








प्रतिक्रिया