लगानी गर्न नसकेपछि बैंकहरुले राष्ट्र बैंकमा राखे ५१८ अर्ब, थप ४५ अर्ब बोलकबोल हुँदै



काठमाडौं । बैंकहरुले लगानी गर्न नसकेपछि ५ खर्ब रुपैयाँभन्दा धेरै रकम खिचेको राष्ट्र बैंकले थप ४५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ ।

बुधबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत ४२ दिनको लागि केन्द्रीय बैंकले ४५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आर्थिक वर्षको सुरुबाट नै लगातार तरलता खिचिरहेको केन्द्रीय बैंकले आर्थिक वर्षको अन्त्यतिर आउँदा लामो अवधिको लागि तरलता खिच्न लागेको हो ।

पछिल्लो ३ पटक ६३ दिनको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले आइतबार भने ४२ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।

सामान्यतया २१ दिनको निक्षेप संकलन उपकरण बोलकबोल गरिरहेको केन्द्रीय बैंकले पछिल्लो समय भने ४२ दिन र ६३ दिनेको लागि निक्षेप संकलन उपकरण बोलकबोल गरीरहेको छ ।

सामान्य अवस्थामा एक साताको लागि तरलता प्रशोचन गर्ने औजार प्रयोग गर्ने गरेकोमा लगातार अधिक तरलताको दबाब हुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्न २१ दिनको लागि निक्षेप संकलन बोलकबोल गरीरहेको थियो ।

तर, २१ दिनको निक्षेप संकलन बोलकबोलले पनि तरलता व्यवस्थापन गर्न नसक्ने भएपछि केन्द्रीय बैंकले ४२ दिन र ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल सुरु गरेको हो ।

असार ११ मा ६३ दिनको ६० अर्ब रुपैयाँ र १५ असारमा पनि ६३ दिनको ५० अर्ब रुपैयाँको र १८ असारमा पसन ६३ दिनको ६० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो । आइतबार पनि केन्द्रीय बैंकले ४२ दिनको लागि ४५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा औसत अन्तरबैंक ब्याजदर नीतिगत दरको करिब राख्ने लक्ष्य लिएको थियो । तर, लगातार अधिक तरलता हुँदा नियमित तरलता प्रशोचन गरे पनि उक्त लक्ष्य पूरा हुन सकेको छैन ।

यद्यपि, ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको फ्लोर रेट (निक्षेप संकलन दर) को करिब भने राखेको छ । केन्द्रीय बैंकले फ्लोर रेटमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएकोले अन्तरबैंक ब्याजदर पनि सोही हाराहारी रहेको देखिन्छ।

राष्ट्र बैंकको १९ असारको तथ्यांकअनुसार बैंकहरुमा बढी भएर खिचेको तरलता रकम केन्द्रीय बैंकमा ५ खर्ब १८ अर्ब ६० करोड रुपैयाँ मौज्दात छ । जसमध्ये निक्षेप संकलन बोलकबोल मार्फत २ खर्ब ९१ अर्ब ६० करोड र स्थायी निक्षेप सुविधामार्फत ३ खर्ब १० अर्ब ५ करोड तरलता प्रशोचन भएको हो । आइतबार थप ४५अर्ब रुपैयाँ बोलकबोल हुने भएको हो ।