
कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ ।
सेवाग्राहीलाई अनावश्यक हैरानी र आर्थिक ठगी बढेको गुनासो आएपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो कदम चालेको हो।
निमित्त कार्यालय प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा, नवीकरण, निरोगिता प्रमाणपत्रलगायत सेवा मिलाइदिने भन्दै सेवाग्राहीलाई प्रलोभनमा पार्ने, अतिरिक्त शुल्क असुल्ने र दुःख दिने गरेको उजुरी पटक–पटक आएपछि यस्तो निर्णय लिनुपरेको हो ।
उनका अनुसार यस्ता गतिविधिले सेवा प्रवाहमा अव्यवस्था र ढिलासुस्तीसमेत निम्त्याइरहेको थियो । अब निषेध गरिएको क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई हैरानी दिएको पाइएमा सम्बन्धित निकायमार्फत कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
कार्यालयले सेवाग्राहीलाई आफ्नो कामका लागि सिधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न आग्रह गरेको छ। तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नतिर्न र कुनै पनि सेवाका लागि बिचौलियाको सहारा नलिन अनुरोध गरिएको छ।
बिचौलिया नियन्त्रणपछि सेवा प्रवाह थप छिटो, सहज र पारदर्शी हुने तथा सेवाग्राही अनावश्यक झन्झट र अतिरिक्त खर्चबाट मुक्त हुने अपेक्षा कार्यालयको छ।










प्रतिक्रिया