
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बुधबार निक्षेप संकलन बोलकबोल मार्फत ३९ दिनको लागि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो ३ वर्षयता लगातार तरलता प्रशोचन गरीरहेको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ‘राष्ट्र बैंक ऋणपत्र’ मार्फत समेत २ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।
बुधबार जारी हुने निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपककरणमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
बैंकहरुले निक्षेप संकलन बोलकबोलमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिने सक्नेछखन् । निक्षेप संकलन उपकरणलाई बैंकहरुले राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
निक्षेप संकलन गरिएको रकम सम्बन्धित बैंकको लगानी भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, राष्ट्र बैंकको निर्देशन अनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा गणना गर्न पाउनेछन्।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको रकम चैत १७ गतेसम्म ९ खर्ब १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । जसमध्ये राष्ट्र बैंक ऋणपत्र मार्फत खर्ब निक्षेप संकलन बोलकबोल मार्फत ५ खर्ब ४५ अर्ब २० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधा मार्फत १ खर्ब ६५ अर्ब ४० करोड रुपैयाा तरलता प्रशोचन गरेका छन् ।










प्रतिक्रिया