
काठमाडौं । सनातन धर्ममा तुलसीको अतुलनीय महत्त्व छ । तुलसीलाई वृन्दा देवीको अवतार मानिन्छ र उहाँलाई विष्णु भगवानको अनन्य प्रिय वनस्पति थाहा छ । तुलसीको पूजा, सेवा र रोपणले घरमा सुख, समृद्धि र वैभव ल्याउने मानिन्छ । विशेषतः आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा तुलसी रोप्ने परम्परा छ ।
तर जब यो एकादशी आइतबार (रविवार) मा पर्छ, तब कतिपयले आइतबार तुलसी रोप्न निषेध रहेको रुपमा यो बुझ्छन् । यो विषयमा धार्मिक, शास्त्रीय र व्यावहारिक दृष्टिकोणबाट गहिरो विवेचना गर्न आवश्यक छ।
शास्त्रीय आधार: तिथि प्रधान, वार गौण
हिन्दू धर्मशास्त्रमा कर्मकाण्ड, पूजा, व्रत तथा संस्कारको निर्धारण गर्दा तिथि (चन्द्रमाको अवस्थाअनुसारको दिन) प्रमुख आधार मानिन्छ भने वार (सूर्यका वार) गौण हुन आउँछन्। शास्त्रीय ग्रन्थहरू जस्तै व्रतराज, धर्मसिन्धु, नारदीय पुराण, पद्मपुराण, हरिभक्तिविलास आदिमा स्पष्ट उल्लेख छ कि: तिथिको शुभता नै कर्म सिद्धिको मूल आधार हो ।
यदि तिथि शुभ छ भने वार दोषलाई गौण मान्न सकिन्छ । श्रद्धा, संकल्प र विधिपूर्वक पूजा गर्दा वारदोष नष्ट हुन्छ ।
श्लोकमा यसो भनिएको छः
यदा तिथौ शुभा प्राप्ता तदा वारो न चिन्त्यते।
शुभं कुर्याद् द्रढश्रद्धः दोषः सः न बाधते॥”
(व्रतराज)
अर्थात् जब शुभ तिथि पाइन्छ, तब वारको बाधा नहेर्ने।
तुलसी रोपणको महत्व र हरिशयनी एकादशी
तुलसीको पूजा र सेवा विष्णु भक्तिको अपरिहार्य अंग हो। विष्णुपूजाको साथसाथै तुलसी सेवा घरमा वैभव, शान्ति र सौभाग्य ल्याउने श्रेय पाइन्छ। हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल पक्षको एकादशीलाई विष्णुको चार महिनाको शयन आरम्भको दिन मानिन्छ। यसै दिनदेखि चातुर्मास (चार महिनाको व्रत) शुरू हुन्छ ।
यस दिन तुलसी रोपण गर्नुलाई शास्त्रले अत्यन्त शुभ र पुण्यमय कर्म मानेको छ। पद्मपुराणमा उल्लेख छः
आषाढे शुक्ल एकादश्यां तुलस्याः रोपणं शुभम्।
तां रोप्य पञ्चपात्रेण विष्णोः पूजां समाचरेत्॥”
यही दिन तुलसी रोपण गरिनुपर्ने कारणले यो दिनलाई तुलसी सेवा आरम्भ गर्ने मुख्य शुभ दिन मानिन्छ ।
आइतबार तुलसी रोपण निषेध ?
कतिपय पुराना शास्त्रीय श्लोकहरूमा आइतबार तुलसी स्पर्श र पूजा गर्न निषेध गरिएको पाइन्छ। विशेषतः नारदीय पुराण मा उल्लेख छः
‘आदित्यवासरे तुलस्याः स्पर्शनं निषिद्धम्।’
तर, यो निषेध मुख्यतया स्पर्श वा पूजाको असंयमित रूपमा गर्ने अवस्थामा लाग्छ, जहाँ विधि नपालिएमा दोषको आशंका हुन्छ । शास्त्रले श्रद्धापूर्वक, विधिपूर्वक र शुद्ध मनले तुलसी रोपण गर्दा आइतबार परे पनि दोष नहुने स्पष्ट गरेको छ ।
श्रद्धया क्रियते कर्म, तद् दोषं न बाधते।
भक्त्या तुलसीं सम्पूज्य, सर्वपापैः प्रमुच्यते।
(पद्मपुराण)
यसले श्रद्धा र विधिको महत्व देखाउँछ, जसले सबै बाधा नष्ट गर्छ।
धर्मशास्त्रमा वार र तिथिको द्वन्द्वमा प्रायः तिथि प्रधान मानिन्छ । विशिष्ट कर्ममा मात्र वार दोषलाई विचार गरिन्छ। तुलसी रोपण जस्ता संस्कारमा विधिपूर्वक र श्रद्धासाथ गर्नुपर्ने भएकाले यदि आइतबार परेमा पनि तिथि शुभ छ भने तुलसी रोपण गर्नु पुण्यदायक हुन्छ ।
हरिभक्तिविलास (अध्याय ७४) मा पनि “आषाढे शुक्ल एकादश्यां तुलस्याः रोपणं शुभम्” भनिएको छ। यसमा वारको उल्लेख नभएकोले तिथिलाई प्रधान मानिएको छ ।
बिहान स्नान गरी, गङ्गाजल छर्केर,मन्त्र जाप गर्दै, शुद्ध आचरणसहित तुलसी रोपण गर्नु पूर्णतः शुभ र फलदायी छ ।








प्रतिक्रिया