स्क्विड गेम: पुँजीवादी प्रणालीको कठोर आलोचना


दक्षिण कोरियाली वेबसिरीज स्क्विड गेमको तेस्रो सीजनले नेटफ्लिक्सको भ्युअरशिप रेकर्ड तोडेको सन्दर्भमा यसले उठाएका विषयमाथि चर्चा गर्नु सान्दर्भिक ठहर्छ ।

सन् २०२१ सेप्टेम्बर २७ मा पहिलोपटक सार्वजनिक भएको स्क्विड गेम तत्कालै विश्वव्यापी रूपमा लोकप्रिय बन्न पुगेको थियो । बालबालिकाले खेल्ने निर्दोष खेलहरूलाई अर्बौं रुपैयाँ कमाउन मिल्ने रक्तरञ्जित खेलमा परिणत गरिएको यस कथाले संसारभरिका मानिसलाई मुग्ध बनाएको थियो । अत्यन्तै लोकप्रिय बनेपछि दोस्रो र तेस्रो सीजन समेत ल्याइएको थियो । यसको रोमाञ्चक कथाले पूँजीवादको कठोर आलोचना गर्नुका साथै पञ्च महापापमध्येको एक लोभको पनि नाटकीय प्रस्तुति गरेको छ ।

सिरीजले अनियन्त्रित बजारको क्रूरता, गरिबहरूलाई छनोटको भ्रम दिएर गरिने शोषण र सामान्यजनमा ऋण, लोभ र निरीहताले पार्ने मनोवैज्ञानिक असरलाई सर्भाइभल ड्रामामार्फत प्रस्तुत गरेको छ ।

स्क्विड गेम टेलिभिजन शो मात्र हैन, यो त चरम पुँजीवादको ऐना देखाउने उत्कृष्ट कलाकारिताको उदाहरण हो । पैसाको पछि लाग्दा मानिसले नैतिकताका सबै सीमाहरूलाई कसरी भत्काउँछ ? विपन्न वर्गका मानिसलाई एकअर्कासँग लडाउनका लागि कसरी खेलहरू निर्माण गरिन्छन् ? दर्शकहरूलाई यस्ता किसिमका कैयौं प्रश्न सोध्न यस सिरीजले बाध्य बनाउँछ ।

यसको कथा त पाठकहरूलाई थाहै होला । ऋणमा डुबेका ४५६ जना व्यक्तिलाई एउटा अनकन्टार टापुमा लगेर अर्बौं रुपैयाँको पुरस्कार जित्ने लोभ देखाएर बालबालिकाले खेल्ने सामान्य खेलहरू खेल्न लगाइन्छ । खेलमा हार्ने व्यक्तिलाई गार्डहरूले तत्कालै गोली हानेर मारिदिन्छन् ।

झट्ट हेर्दा, यस खेलका नियमहरूमा आपत्ति उठाउनुपर्ने ठाउँ हुँदैन । सबैजनालाई स्वेच्छाले नै खेलमा भाग लिन भनिएको हुन्छ । खेलमा कसैलाई पनि भेदभाव गरिँदैन, समान अवसर दिइन्छ । तर, यो सब भ्रम भएको कुरा खेल अघि बढ्दै जाँदा थाहा हुन्छ ।

आर्थिक कारणले समस्यामा परेका व्यक्तिहरूलाई खेलमा सहभागी हुन लगाएर सम्भ्रान्तहरूले मनोरञ्जन लिन्छन् । खेलका सहभागीहरू समाजले हेला गरेका मानिस हुन्छन् । कारखाना वा कम्पनीले तलब दिन नसकेर निकालिएका कर्मचारी वा मजदुर, जुवातास खेलेर पैसा गुमाएका व्यक्ति, आप्रवासी वा शरणार्थी, आपराधिक समूहबाट भागिरहेका मान्छे, एकल आमा, प्रियजनलाई गम्भीर स्वास्थ्य समस्या परेर पैसाको खोजीमा रहेका पीडितहरू यस कथाका पात्र हुन् ।

जीवनमा आर्थिक चमत्कार आउने आशामा उनीहरू खेलमा सहभागी हुन्छन् । उनीहरू अर्कालाई मार्नुपर्ने वा आफैं मर्नुपर्ने विकल्प हुँदाहुँदै पनि खेल्न तयार हुन्छन् किनकि खेल खेलाउने टापुमा हुने हिंसाभन्दा बढी क्रूर व्यवहार समाजमा नै हुने गर्छ । आखिर, मान्छेले आफ्नो जीवन नै दाउमा राख्नुपर्दा सबै किसिमका स्वतन्त्रताहरू अर्थहीन बन्न पुग्छन् । स्क्विड गेमले यही कटु यथार्थलाई नाटकीय रूपमा प्रस्तुत गरेको छ ।

ऋणको भारमा थिचिएपछि त्यसबाट उन्मुक्ति पाउनका लागि मानिस कुन हदसम्म जान सक्छ भन्ने कुरालाई सिरीजको कथानकले केन्द्रमा राखेको छ । सिरीजका पात्रहरू आर्थिक समस्याका कारण पीडित भएर पैसाले दिलाउने स्वतन्त्रताप्रति आकर्षित छन् । गरिबीले मानिसको दिमागमा अभावको सोचलाई झनै बलियो बनाउने व्यावहारिक अर्थशास्त्रीहरूको भनाइ छ।

अभावको सोचले मानिसलाई तार्किक निर्णय लिनबाट रोक्छ । यसले मानिसलाई अल्पकालीन लाभमा मात्र केन्द्रित हुन बाध्य बनाउँछ । त्यसैले खेलका प्रतिस्पर्धीहरू खेल छोडेर जाने विकल्प हुँदाहुँदै पनि फर्कीफर्की आउँछन् । गरिबीले वास्तविक संसारमा पनि पीडा दिइरहेकाले पात्रहरू त्यो भन्दा त बरू हिंस्रक खेलमा पैसा जितिहालिन्छ कि भनी दाउ लगाएर बसेका हुन्छन् ।

यसरी स्क्विड गेमले पुँजीवादको क्रूर सत्यलाई उजागर गरिदिन्छ । पुँजीवादी प्रणालीमा गरिबहरूले आफ्नो असफलतालाई संरचनागत अन्याय भन्दा पनि व्यक्तिगत कमजोरीका रूपमा व्याख्या गरिरहेका हुन्छन् । त्यसैले उनीहरू पैसा जितेर आफूलाई आर्थिक रूपमा सफल बनाउन लागिपरेका हुन्छन् ।

खेलहरू अघि बढ्दै जाँदा खेलाडीहरूमा कसरी व्यक्तिवाद हावी हुन्छ भन्ने कुरा देखाइन्छ । सुरुमा सहकार्य गरिरहेका खेलाडीहरू धोकाधडीदेखि हत्यासम्मका लागि तयार हुन्छन् । साथी वा प्रेमी भनिएका पात्र आफ्नो पार्टनरलाई बलिदान दिन हिचकिचाउँदैनन् ।

आर्थिक कठिनाइले नैतिकतालाई तिलाञ्जलि दिन्छ र मानवीय सम्बन्धलाई विनिमयमा सीमित गरिदिन्छ ।
पुँजीवादले गर्ने नै यही हो । सामूहिक हित भन्दा पनि व्यक्तिगत लाभलाई पुँजीवादले प्रोत्साहन गर्छ । अर्कालाई पन्छाएर वा दबाएर नै पुँजीवादमा अघि बढ्न सकिन्छ ।

सिरीजमा खेलाडीहरूलाई लोभ उत्पन्न गराउन पनि खेलको संरचना नै जिम्मेवार छ । जति कम खेलाडी बाँच्छन्, त्यति धेरै रकम जित्न सकिन्छ भनिएकाले अलि कमजोरलाई मारेर भए पनि धेरै रकम जित्ने लोभ खेलाडीहरूमा उत्पन्न हुन्छ ।

मान्छे मारेर पैसा जित्न खोज्ने खेलाडीहरू मात्र दोषी हैनन् । जनावरको आकृति भएका मास्क लगाएर खेलाडीहरूको हिंस्रक मृत्यु हेरिरहेका भीआईपीहरू पनि उत्तिकै दोषी छन् । घोडादौडमा बाजी लगाएझैं उनीहरू मानिसको जीवनमा दाउ लगाउँछन्।

सिरीजका भीआईपीहरू सम्भ्रान्त वर्गका क्यारिकेचर हुन् । सम्पत्तिको आडमा जस्तोसुकै घृणित क्रियाकलाप गर्न पनि उनीहरू तयार हुन्छन् । अर्काको पीडा उनीहरूका लागि आनन्ददायक खेल हो ।

वास्तविक संसारका धनाढ्यहरू पनि यस्तै क्रूर हुन्छन् । संकटमा आफ्नो सबै बचत, घरबार र सामाजिक प्रतिष्ठा गुमाउन कामदारहरू बाध्य भइरहँदा धनाढ्यहरूको सम्पत्ति चाहिँ बढिरहेको हुन्छ । अक्सफ्याम इन्टरनेशनलले प्रत्येक वर्ष निकाल्ने प्रतिवेदनमा धनीहरूको सम्पत्ति बढिरहेको तर गरिबहरूले आर्थिक उन्नति गर्न नसकेको उल्लेख भइरहन्छ ।

स्क्विड गेममा पीडालाई वस्तुकरण गरिएको छ र त्यसले दर्शकको मनमस्तिष्कलाई हल्लाइदिन्छ । धनीहरूको मनोरञ्जनका लागि मध्यम र तल्लो वर्गका मानिसको जीवन दाउमा राख्ने खेल वास्तविक जीवनमा रियालिटी टीभीमा गरीबको दुःखको कथा र परोपकारी संस्थाहरूले गरिबको कारुणिक तस्बिर वा भिडियो देखाएर चन्दा बटुल्ने कामकै प्रतिबिम्ब हो ।

सिरीजमा प्रत्येक खेलाडीको मृत्युपछि सेतो विशाल पिगीबैंकमा पैसा भरिँदै गएको देखाइन्छ । पुँजीवादी प्रणालीले क्रूरतालाई पुरस्कृत गर्छ र दमित वर्गको पीडालाई पैसा कमाउने माध्यमका रूपमा लिन्छ भन्ने कुरालाई सिरीजले नाटकीय ढंगले प्रस्तुत गरेको छ । मरेका खेलाडीको अंग निकालेर बेच्ने काम पनि मुनाफा कमाउने सोचकै एक हिस्सा भएको स्पष्ट छ ।

यो काल्पनिक कथा भए पनि वास्तविकताबाट टाढा छैन । कोभिड महामारीमा पश्चिमी मुलुकका खोप बनाउने कम्पनीहरूले कमाएको मुनाफालाई हेरौं न । विशाल कम्पनीहरूले खोप र पीपीईमार्फत अर्बौं डलर कमाए अनि प्रविधि कम्पनीहरूले प्रयोगकर्ताको डिजिटल निर्भरताबाट व्यापक लाभ उठाए । उता, सामान्य मानिस चाहिँ खानेकुराको लागि लाइनमा बस्न बाध्य भए ।

पुँजीवादी प्रणालीमा स्वतन्त्रता भ्रम मात्र हो भन्ने कुरालाई पनि स्क्विड गेमले कथाको माध्यमले प्रस्तुत गरेको छ । खेलाडीहरूलाई जुनसुकै बेलामा पनि खेल छोडेर जाने विकल्प दिइएको हुन्छ र मतदान गर्ने अधिकार पनि दिइन्छ । यसले खेललाई नैतिक र लोकतान्त्रिक पनि बनाएको आभास हुन्छ । तर, समाजले गतिलो विकल्प नदिँदा खेलाडीले गर्ने छनोट पनि आफैंमा एउटा पासो मात्र हुन्छ ।

श्रम बजारमा यस्तै किसिमको व्यवस्था हुन्छ । कामदारहरूलाई जागिर छोडेर जाने विकल्प हुन्छ । तर, ज्यालादारी कम हुने, श्रमिक अधिकारको पालन नगरिने र सम्मानजनक रोजगारीको अवसर नपाइने हुँदा कामदारहरू त्यही ठाउँमा थोरै पैसाका लागि हाड घोट्न बाध्य हुन्छन् ।

यसरी स्क्विड गेमले क्रूर पुँजीवादी प्रणालीको नाटकीकरण गरेर आर्थिक रूपमा विपन्न वर्गको पीडालाई उजागर गरेको छ । पुँजीवादी अर्थतन्त्रले शक्तिशालीको हितका लागि काम गर्छ र लोभ आधुनिक पुँजीवादको अभिन्न अंग हो भन्ने तथ्यलाई स्क्विड गेमले बलियो गरी स्थापित गरेको छ ।

त्यसो त सिरीजमा निराशाको घना अन्धकार मात्र छैन, आशाका किरणहरू पनि छन् । सिरीजका नायक स्योङ गी–हुनले पहिलो सीजनमा खेल जितेर अर्बौं कमाए पनि त्यो अर्काको रगतबाट आर्जित सम्पत्ति हो भन्ने बुझेका थिए । त्यसैले उनी त्यो पैसा खर्च नगरी बसे र खेल चलिरहेकै छ भन्ने थाहा पाएपछि त्यसलाई सदाका लागि अन्त्य गर्न लागिपरे । फ्रन्ट म्यानले मानवताप्रतिको विश्वासमा प्रश्न उठाउँदा उनले मानवता जीवित रहेको सन्देश दिन आफैंलाई बलिदान दिए ।

स्योङ गी–हुनको गतिविधिमार्फत निर्देशक ह्वाङ दोङ–ह्युकले पुँजीवादको आलोचना गरेर मात्र नपुग्ने, त्यसविरुद्ध संघर्ष पनि गर्नुपर्ने सन्देश दिएका छन् । पुँजीवादी प्रणाली धनीहरूको पक्षमा ढल्किएको छ भन्ने ज्ञान पाएपछि विपन्न वर्गमा विद्रोहको चेतना पलाउँछ । हुन त स्क्विड गेममा क्रान्तिको खाका स्पष्ट कोरिएको छैन तर केही नगरी पुँजीवादी क्रूरतालाई सहेर बस्नु सही हुँदैन भन्ने सन्देश चाहिँ दिइएको छ ।