संघई परिवारद्वारा सञ्चालित अन्नपूर्ण भेजिटेबलले १० महिनामा गर्‍यो साढे ९ अर्बको व्यापार

70
Shares

काठमाडौं । अन्नपूर्ण भेजिटेबल प्रोडक्टले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा साढे ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ९ अर्ब ५७ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२३ मा ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारको तेल प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । साथै कम्पनीले भारतमा पनि निर्यात गर्दै आएको छ ।

वीरगञ्ज आदर्शनगरमा उद्योग रहेको कम्पनीले भटमासको तेल, पामोलिन, सनफ्लावर गरी वार्षिक ६० हजार मेट्रिक टन तेल उत्पादन गर्ने क्षमता छ । साथै कम्पनीले वार्षिक ७ हजार मेट्रिक टन वनस्पति घ्यू र १० हजार मेट्रिक टन तोरीको तेल उत्पादन गरी व्यापार गर्दै आएको छ ।

कम्पनीले विभिन्न तीन प्रकार ब्राण्डमा आफ्नो उत्पादनको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अमृत, सनस्टार र रानी ब्राण्डमा आफ्नो उत्पादन आन्तरिक बजारमा बिक्री वितरण गर्दै आएको उल्लेख गरेको छ ।

संघाई परिवारको स्वामित्व रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब १९ करोड ७२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ९ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको व्यापार भारत सरकारको निर्णयमा भर पर्ने गरेको रेटिङमा उल्लेख गरेको छ । भारत सरकारले कच्चा तेलमा २० प्रतिशत र प्रशोधित सनफ्वार तेलमा ३२.५ प्रतिशत कर बढाएको छ । जसले गर्दा भारतका व्यापारीहरु मारमा परेका छन् ।

कम्पनीअनुसार भारत सरकारले कच्चा तेलको आयातमा कर बढाउँदा नेपालबाट प्रशोधित तेल आयात गर्दा फाइदा हुने भएकाले पछिल्लो समय भारतमा तेल उच्च रुपमा निर्यात भइरहेको छ । भारतमा उच्च निर्यात हुँदा व्यापारमा उछाल आएको कम्पनीको भनाइ छ ।

कम्पनीको व्यापार सन् २०२४ मा ४६ प्रतिशतले घटेको थियो । सन् २०२४ मा कम्पनीको निर्यात ८० प्रतिशतले घटेको थियो । जसले गर्दा व्यापारमा प्रत्यक्ष असर देखिएको हो । सन् २०२४ मा ४ करोड ७० लाख रुपैयाँ घाटामा गएको कम्पनीले चालु आवको १० महिनाको अवधिमा भने ६१ करोड ३० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ ।

कम्पनीले विभिन्न प्रकारका तेल उत्पादन गर्न आवश्यक कच्चा पदार्थ दक्षिण अमेरिका, मलेसिया, इन्डोनेसिया, युक्रेन, क्यानाडा, अस्ट्रेलिया र भारतबाट आयात गर्ने गरेको छ ।