
एजेन्सी । दक्षिण अमेरिकी मुलुक कोलम्बियाकी विदेशमन्त्री लाउरा साराबियाले बिहीवार पदबाट राजीनामा दिएकी छन् ।
पासपोर्ट छपाइको विषयमा विवाद भएपछि उनले राजीनामा दिएकी हुन् ।
पहिले गरिएको राहदानी छपाइ सम्झौतालाई सरकारले परिवर्तन गर्ने निर्णयप्रति साराबियाले असन्तुष्टि व्यक्त गर्दै आएकी छन् ।
आफूले व्यक्तिगत मर्यादा र संस्थागत सम्मानका लागि राजीनामा दिएको उनले बताइन् ।
सन् २००६ देखि सरकारी पासपोर्ट छापिरहेको टमस ग्रेस यान्ड सन्स नामक निजी कम्पनीलाई पासपोर्ट छाप्न दिइरहने कि सरकारी कम्पनी इम्प्रेन्टा नासियोनाल दे कोलम्बियालाई छाप्न दिने भन्ने विषयमा विवाद भएको हो ।
राष्ट्रपति गुस्ताभो पेत्रो पोर्चुगलबाट सहयोग लिएर सरकारी कम्पनीलाई पासपोर्ट छपाइको काम दिन चाहन्छन् । बोलपत्र प्रक्रियामा एउटा मात्र कम्पनीले प्रतिस्पर्धा गरेकाले यो स्वच्छ नभएको भन्दै पेत्रोले निजी ठेक्का बन्द गर्न खोजेका हुन् ।
साराबियाले चाहिँ सरकारी कम्पनी सेप्टेम्बर महिनाभित्र पासपोर्ट निकाल्न तयार नरहेको बताएकी छन् । यसका लागि इम्प्रेन्ता नासियोनाललाई कम्तीमा ३५ हप्ता लाग्ने आधिकारिक दस्तावेजमा उल्लेख गरिएको छ ।
अहिल्यै कम्पनी बदल्दा ढिलाइ हुने र कोलम्बियालीहरू पासपोर्टविहीन हुने साराबियाले दाबी गरेकी छन् । यसअघि पूर्व विदेशमन्त्री आल्भारो लेभ्यालाई पर्याप्त कानुनी आधारविना नै निजी ठेक्का रद्द गरेको आरोपमा पदमुक्त गरिएको थियो ।
त्यसपछि निजी कम्पनीले सरकारविरुद्ध मुद्दा दायर गर्दै रद्द गरिएको सम्झौता बापतको क्षतिपूर्ति माग गरेको छ ।
साराबियाको राजीनामाले कोलम्बिया सरकारमा रहेका मतभिन्नतालाई छताछुल्ल बनाएको छ ।
नेपालमा पनि पासपोर्ट छपाइको विषयमा विवाद चलिरहेको छ । फ्रान्सको विवादित कम्पनी आईडीईएमआईएलाई पासपोर्ट छपाइको ठेक्का दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।










प्रतिक्रिया