ठूला कम्पनीहरूको मुनाफाका लागि गाजामा आक्रमण जारी रहेको राष्ट्रसंघीय प्रतिवेदकको दाबी

434
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक फ्रान्चेस्का एल्बनिजीले गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणबाट ठूला कम्पनीहरूले नाफा कमाइरहेको दाबी गरेकी छन् ।

राष्ट्रसंघीय मानव अधिकार परिषद्लाई प्रतिवेदन पेश गर्दै एल्बनिजीले पालान्तिर लगायतका कम्पनीहरूले गाजामा इजरायलले गरिरहेको आक्रमणबाट फाइदा लिइरहेको बताइन् ।

इजरायलले गरिरहेको आक्रमण नरसंहार भएको र विश्वव्यापी कम्पनीहरूले नाफाका लागि त्यसलाई समर्थन गरिरहेको उनको भनाइ छ । गाजामा नयाँ हतियार र प्रविधिको परीक्षण भइरहेको उनले बताइन् ।

नरसंहारको हदसम्म पुग्ने क्रियाकलाप गर्दै इजरायलले लगभग ६० हजारजनाको हत्या गरिसकेको र ८० प्रतिशत घरहरू भत्काएर एवं पानी र खाद्यान्नबाट गाजावासीहरूलाई वञ्चित गराएर जीवन जिउनै नसक्ने बनाइदिएको एल्बनिजीले आरोप लगाइन् ।

लकहीड मार्टिनले इजरायललाई हतियार बेचेर अनि अल्फाबेट, आईबीएम, माइक्रोसफ्ट र अमेजनले प्यालेस्टाइनीहरू बसेको ठाउँ पत्ता लगाउन प्रविधिहरू उपलब्ध गराएर नाफा कमाइरहेको उनको भनाइ छ ।

क्याटरपिलर, ह्युन्डाई र भोल्भोले प्यालेस्टाइनीहरूको घर भत्काउनका लागि भारी गाडी दिइरहेको पनि उनले लेखिन् ।

बीएनपी पारिबास र बार्क्लेजले युद्धभरि इजरायललाई पैसा उपलब्ध गराएको पनि उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इजरायलका विषयमा अन्तर्राष्ट्रिय न्याय अदालतले अन्तिम फैसला दिनुअघि एल्बनिजीको प्रतिवेदन आएको हो ।