
एजेन्सी । उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्धको युद्धमा सहायताका लागि थप २५ देखि ३० हजार सैनिक पठाउन लागेको सीएनएनले खबर दिएको छ ।
युक्रेनी गुप्तचरहरूको सूचनालाई आधार बनाएर सीएनएनले दिएको खबरअनुसार, ती सैनिकहरू केही महिनाभित्रै रुस पुग्नेछन् ।
रुसको कुर्स्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणको प्रतिकारका लागि ११ हजार उत्तर कोरियाली सैनिकहरूले रुसलाई सहयोग गरेका थिए । तीमध्ये ४ हजार उत्तर कोरियाली सैनिकहरू मारिएको वा घाइते भएको पश्चिमी अधिकारीहरूले विश्वास गरेका छन् । त्यस क्षतिका बावजूद मस्को र प्योङयाङबीचको सहकार्य जारी छ ।
रुसको रक्षा मन्त्रालयले उत्तर कोरियाली सैनिकहरूलाई आवश्यक हातहतियार, सैन्य उपकरण र गोलीगठ्ठा उपलब्ध गराउन सक्छ । रुसको कम्ब्याट युनिटमा उत्तर कोरियालीहरूलाई समावेश गर्ने उद्देश्यका साथ सैन्य उपकरण दिन लागिएको हो ।
उनीहरूलाई रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा तैनाथ गरिने सम्भावना छ । विशाल स्केलको आक्रामक कारवाहीमा उनीहरूलाई तैनाथ गरिनेछ ।
युक्रेनी रक्षा गुप्तचर निकायले गरेको मूल्यांकनले रुसी सैन्य विमानलाई विस्तार गरेर थप धेरै सैनिक बोक्न मिल्ने बनाइएको छ । ती विमानहरूले रुसको साइबेरियामा उत्तर कोरियाको सीमानजिकबाट हजारौं विदेशी सैनिक ल्याउनेछन् ।
रुसी बन्दरगाहमा जहाज आउनु र उत्तर कोरियाको सुनान विमानस्थलमा मालवाहक विमान आउनुलाई सम्भावित विशाल स्तरको तैनाथीका रूपमा हेरिएको छ ।








प्रतिक्रिया