भारत र अमेरिकाबीच रक्षा र रणनीतिक सम्बन्ध बढाउने सहमति, १० वर्षे फ्रेमवर्कमा हस्ताक्षर हुँदै

168
Shares

एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंह र उनका अमेरिकी समकक्षी पिट हेगसेथले दुई देशबीचको रक्षा र रणनीतिक सम्बन्ध विस्तारका लागि १० वर्षे फ्रेमवर्क बनाउने सहमति बनेको छ ।

डिफेन्स फ्रेमवर्कसम्बन्धी निर्णय अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिंह र हेगसेथबीच फोनवार्ता भएको भोलिपल्ट यो विज्ञप्ति आएको हो ।

सन् २०२५ मा यी दुई रक्षामन्त्रीहरूको बैठकमा १० वर्षको डिफेन्स फ्रेमवर्कमा हस्ताक्षर हुनेछ ।

अमेरिकाले भारतलाई बेच्न खोजेको हतियारका विषयका साथै दुई देशबीचको निकट रक्षा सहकार्यका विषयमा पनि दुई पक्षबीच कुराकानी भएको बताइएको छ ।

हेगसेथले दक्षिण एसियामा अमेरिकाले भारतलाई प्रमुख रक्षा साझेदारका रूपमा लिएको भनी जोड दिएको पेन्टागनले जनाएको छ ।

गत फेब्रुअरीमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको संयुक्त विज्ञप्तिमा निर्धारित रक्षा लक्ष्य हासिल गर्नका लागि दुवै देशले उल्लेखनीय प्रगति गरेको पनि पेन्टागनको विज्ञप्तिमा उल्लेख छ ।

मंगलवार भएको फोनवार्तामा सिंहले हेगसेथलाई जीई एफ४०४ इन्जिनको आपूर्ति छिटो गराउन अनुरोध गरेका थिए । त्यस इन्जिनले तेजस लाइट कम्ब्याट एयरक्राफ्टलाई सञ्चालन गर्छ ।

सिंहले हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (हाल) र अमेरिकी रक्षा कम्पनी जीई एयरोस्पेसबीच एफ४१४ जेट इन्जिन बनाउने प्रस्तावलाई छिटो टुंग्याउन पनि आग्रह गरेका छन् ।

जीई एयरोस्पेसले एफ४०४ इन्जिन दिन ढिलाइ गर्दा हालले तेजस मार्क १ए लडाकू विमान भारतीय वायुसेनालाई दिन पाएको छैन ।

भारतले सिंह र हेगसेथबीच भएको फोनवार्तामा सैन्य प्रशिक्षण र रक्षा उद्योगमा सहकार्य लगायतका दीर्घकालीन योजनाको चर्चा गरिएको भारतीय पक्षले जारी गरेको रीडआउटमा उल्लेख छ ।