
एजेन्सी । अमेरिकाको न्युयोर्क शहरमा मेयर पदका उम्मेदवार जोहरान मामदानीले हातैले दालभात तरकारी खाएको भिडियो सार्वजनिक भएपछि ट्रम्पसमर्थकहरूले आक्रोश व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले मामदानीलाई ‘बौलाहा कम्युनिस्ट’ भनी अपमान गरिरहेको सन्दर्भमा उनका समर्थकहरूले पनि मामदानमाथि आपत्तिजनक टिप्पणी गरेका हुन् ।
टेक्सस राज्यका रिपब्लिकन सांसद ब्रान्डन गिलले मामदानीलाई तेस्रो विश्वतिर फर्केर जान भनेका छन् ।
हातैले भात खानुलाई मेक अमेरिका ग्रेट अगेनका अनुयायीहरूले राजनीतिक हतियारका रूपमा प्रयोग गरिरहेका छन् ।
चम्चाकाँटाको साटो हातैले खाना खाने मान्छे अमेरिकी हुन नसक्ने उनीहरूको भनाइ छ ।
नेपाल, भारत, श्रीलंका लगायतका देशमा हातैले खाना खाने प्रचलन छ । यो सांस्कृतिक परम्पराको पालन मात्र हो ।
तर, अमेरिकाका जातिवादी र श्वेत सर्वोच्चतावादीहरूले हातैले खाना खानुलाई अर्को संस्कृतिको परम्पराका रूपमा लिएर सम्मान गर्नुको साटो पश्चिमी संस्कृतिमाथिको धावाका रूपमा लिए । उनीहरूको पूर्वाग्रही दृष्टिकोणमा गोरा मानिस र पश्चिमी संस्कृतिभन्दा बाहेकका सबै गतिविधि शंकाको घेरामा पर्छन् ।
‘तेस्रो विश्वतिरै फर्केर जानू’ अपमानजनक शब्दावलि हुनुका साथै राजनीतिक बहिष्कारको संकेत पनि हो । श्वेत सर्वोच्चतावादीहरूले अन्यलाई ‘तिमीहरू जहाँबाट आएको हो, त्यहीँ फर्केर जाओ’ भन्ने गरेका छन् र अहिले तेस्रो विश्व भनेर उनीहरूले त्यही कुरालाई भूराजनीतिक शब्दावलि दिएका छन् ।
यसले स्पष्ट रूपमा सांस्कृतिक सीमारेखा कोरेको छ । तिमीहरू हामी जस्ता हैनौ भनी बहिष्कारको भाषा बोलिएको हो ।
मामदानीका पिता भारतीय मूलका युगान्डाली महमूद मामदानी हुन् भने आमा प्रख्यात फिल्म निर्देशक मीरा नायर हुन् । युगान्डाको राजधानी कम्पाला जन्मिएका मामदानी सात वर्षको हुँदा उनका आमाबुवा अमेरिकामा बसाइ सरेका हुन् ।
मामदानी न्युयोर्कको नगरसभामा निर्वाचित सदस्य हुन् । उनलाई त यस्तो अपमान गरिन्छ भने अश्वेत सर्वसाधारणप्रति कति घृणा प्रकट गरिन्छ होला ?
तेस्रो विश्व भन्ने शब्दावलि शीतयुद्धको समयमा प्रयोग गरिन्थ्यो । त्यो अब अर्थहीन भइसकेको छ ।
गोरा अमेरिकीहरू हातैले बर्गर, चिप्स र फ्राइज खान्छन् तर उनीहरूलाई असभ्य भनिँदैन । दक्षिण एसियालीहरूले हातले भात खाँदा किन यति धेरै आपत्ति उठाइन्छ ?
अमेरिकामा बस्ने दक्षिण एसियाली मूलका मानिसले मामदानीको भिडियोमा मिश्रित प्रतिक्रिया जनाएका छन् । कतिपयलाई यो देखेर लाज लाग्यो भने अन्य कतिपयले आफ्नो संस्कृतिलाई संसारसामु प्रस्तुत गरेको भन्दै मामदानीको प्रशंसा गरे ।
मामदानीले हातैले भात खानु सांस्कृतिक क्षण मात्र हैन, यो त फरक संस्कृतिको अभ्यासले श्वेत सर्वोच्चतावादीहरूलाई असहज बनाउँछ भन्ने तथ्यको स्थापना पनि हो ।
मामदानीले पहिला पनि रोडी यान्ड रोजेज नाम दिएर अभियान चलाएका थिए । उनले आफ्नो राजनीतिलाई खाना, संस्कृति र न्यायसँग जोड्ने गरेका छन् । उनले आप्रवासी लगायतका कामकाजी वर्गको सुरक्षाका लागि खाद्य न्याय, बसोवासको अधिकार र श्रम सुरक्षाका विषयमा पैरवी गर्दै आएका छन् ।
त्यसैले, मामदानीले हातैले खाना खाएको भिडियो सार्वजनिक गर्नु आफ्नो जराप्रति एक्यबद्धता र गर्वको अभिव्यक्ति हो । तर, अमेरिकाका उग्रदक्षिणपन्थीहरूले त्यो सांस्कृतिक गर्वलाई जोरी खोज्ने कामका रूपमा हेरिरहेका छन् ।








प्रतिक्रिया