उत्तराधिकारी चयनमा कुनै पनि बाहिरी शक्तिले हस्तक्षेप गर्न पाउँदैन : दलाई लामा


एजेन्सी । निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो मृत्युपछि पनि परम्परा कायम रहने बताएका छन् ।

९०औं जन्मदिनको पूर्वसन्ध्यामा बुधवार भिडियो सन्देश जारी गर्दै १४औं दलाई लामाले संसारभरि रहेका निर्वासित तिब्बतीहरूले यस परम्परालाई कायम राख्नुपर्ने अपील गर्दै आएको बताए ।

१५औं दलाई लामाको पहिचान गर्ने जिम्मेवारी भारतमा रहेको गादेन फोद्राङ ट्रस्टसँग मात्र रहेको उनको भनाइ छ । अरू कुनै पनि बाहिरी शक्तिले यसमा हस्तक्षेप गर्न नपाउने उनले स्पष्ट पारे ।

६०० वर्षदेखि चलिआएको दलाई लामा परम्परा अहिले जोखिममा परेको छ । चीनले दलाई लामाको उत्तराधिकारीको नाम आफैंले घोषणा गरेर तिब्बतमाथिको नियन्त्रण बलियो बनाउन खोजेको छ ।

सन् १९५९ मा तिब्बतमा बेइजिङका विरुद्ध प्रदर्शनहरू भएर चिनियाँ सेनाले दमन गरेपछि दलाई लामा भारततर्फ निर्वासित भएका थिए । उनी हिमाचल प्रदेशको मकलियोडगञ्जमा बस्दै आएका छन् । त्यहाँ चलिरहेको बौद्ध सम्मेलनमा भाग लिनका लागि प्रमुख तिब्बती बौद्ध परम्पराका प्रतिनिधिहरू सहभागी छन् ।

दलाई लामाले आफूलाई सामान्य बौद्ध भिक्षुका रूपमा चित्रित गरेका छन् । चीनले चाहिँ उनलाई विद्रोही र पृथक्तावादी मान्ने गरेको छ ।

आफू ९० वर्ष पुगेपछि पुनर्जन्मका विषयमा कुरा गर्ने भनी दलाई लामाले बताउँदै आएका छन् ।

सन् २०११ सेप्टेम्बर २४ मा जारी गरिएको बयानमा दलाई लामाको उत्तराधिकारी चयन गर्ने जिम्मेवारी महामहिम दलाई लामाको कार्यालय गादेन फोद्राङ ट्रस्टका सदस्यहरूसँग मात्र रहेको विषयलाई दलाई लामाले स्मरण गरे ।

तिब्बती बौद्ध परम्पराका विभिन्न प्रमुख र प्रतिज्ञाबद्ध विश्वसनीय धर्मरक्षकहरूसँग ट्रस्टले सल्लाह गर्नुपर्ने दलाई लामाको भनाइ छ । परम्परामा आधारित रही उनीहरूले दलाई लामाको खोज र पहिचान प्रक्रियालाई अघि बढाउनुपर्ने उनले बताए ।

तिब्बती बौद्ध परम्परामा लामाहरूको पुनर्जन्मलाई पहिचान दिने प्रक्रिया अद्वितीय भएको तिब्बतीहरूको भनाइ छ ।

उता, बेइजिङले दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियाले चिनियाँ कानूनको सम्मान गर्नुपर्ने बताउँदै आएकोे छ । आफ्नो अधिकारक्षेत्र बाहेकको उत्तराधिकार चयन अमान्य हुने उसको भनाइ छ ।