
विराटनगर । पूर्वका उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङले आगामी दुई वर्षे रणनीतिक योजनामा उद्योग–व्यवसाय क्षेत्रको विकास र प्रवर्द्धनका लागि इकोसिस्टमको विकासलाई प्राथमिकता दिने घोषणा गरेको छ ।
संगठनका नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले आफ्नो कार्यकालको रणनीतिक योजना सार्वजनिक गर्दै भने, ‘इकोसिस्टमको विकासमार्फत उद्योग–व्यवसाय सशक्त बन्छ । यसले व्यावसायिक सहकार्य बलियो बनाउने र दिगो आर्थिक विकासमा टेवा पुर्याउनेछ ।’
उनले इकोसिस्टमको विकाससँगै लगानीमैत्री वातावरण निर्माण, नीतिनिर्माणमा निजी क्षेत्रको भूमिका, व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सेवा, उद्यमशीलता विकास तथा नवप्रवर्तन (इनुभेसन) प्रवर्द्धनलाई संगठनको मुख्य प्राथमिकतामा राख्ने बताए ।
राठीले क्लिकमान्डुसँग भने, ‘उद्योग–व्यवसाय क्षेत्रको समग्र प्रवर्द्धनका लागि मेरो कार्यकालमा सशक्त रूपमा काम हुनेछ ।’
संगठनले सार्वजनिक गरेको रणनीतिक गुरुयोजनामा विश्वासको वातावरण निर्माण, अनुमानयोग्य नीतिगत व्यवस्था, प्रक्रियागत सरलीकरण, ऊर्जा आपूर्तिको सुनिश्चितता, पूर्वाधार विकास, वित्तीय पहुँच र निर्यात प्रवर्द्धनजस्ता मुद्दालाई प्रमुख बहस र पैरवीको विषय बनाइने उल्लेख छ ।
राठीका अनुसार, आयात प्रतिस्थापन, खुला बजार नियमन, असल औद्योगिक श्रम सम्बन्ध, तथा निरन्तर विद्युत आपूर्तिको दीर्घकालीन समाधानका लागि संगठनले विशेष पहल गर्नेछ ।
अध्यक्ष राठीले युवा पलायनको विकराल अवस्थालाई ध्यानमा राख्दै त्यसले अर्थतन्त्र र समाजमा पारिरहेको प्रभाव कम गर्न ‘स्कुल टु वर्क ट्रान्जिशन’ तथा ‘स्टार्टअप र इन्क्युबेसन’ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सीआईएम इन्टरप्रेनरशिप एकेडेमी मार्फत विद्यार्थी लक्षित कार्यक्रम अगाडि बढाइनेछ ।
राठीले औद्योगिक इकोसिस्टम सुदृढ गर्दै औद्योगिकीकरण प्रवर्द्धन, उद्यमशीलता विकास र नीति वकालत सशक्त बनाउने योजना अघि सारेका छन् । संगठनलाई व्यापारिक सुधारका लागि शक्तिशाली पैरवी गर्ने निजी क्षेत्रको भरपर्दो संस्था बनाउने लक्ष्य रहेको पनि उनले बताए।








प्रतिक्रिया