
काठमाडौं । पोखराको पुम्दिकोटमा पुम्दिकोट महादेव केबलकार बन्ने भएको छ । सन् २०२३ मा कम्पनी स्थापना गरी निर्माण कार्य अगाडि बढाएको कम्पनीले एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा केबलकार बनाउने भएको हो ।
हाल जग्गा अधिग्रहणको कार्य भइरहेको छ । सन् २०२६ को जुलाईबाट सञ्चालनको योजना बनाएको कम्पनीले कर्जा र इक्वीटीको अनुपात ८० र २० राखेको छ ।
केबलकार १.१ किलोमिटर लम्बाइमा बनाउने तयारी गरेको छ । अन्य केबलकारभन्दा कम लम्बाइमा बनाउने तयारी रहेको कम्पनीले डेढ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने अपेक्षा गरेको छ ।
केबलकार पोखराको पुम्दिकोट क्षेत्रलाई लक्षित गरेर निर्माण हुन लागेको हो । तीन वर्षअघिबाटै सञ्चालनमा आएको सबैभन्दा ठूलो महादेवको मूर्तिले उक्त क्षेत्रमा पर्यटकहरुको आकर्षण बढ्दो छ । त्यससँगै अन्नपूर्ण हिमश्रृंखलाको दृश्यले तीर्थयात्री र पर्यटकहरुलाई आकर्षण गरिरहेको अवस्थामा कम्पनीले पर्यटकको सहजताका लागि केबलकार निर्माण गर्ने भएको जनाएको छ ।
कम्पनीले पोखराको सारङकोट पनि अर्को केबलकार निर्माण गरी सेवा दिँदै आएको छ । उक्त सेवासँगै पुम्दिकोटमा पनि उच्च पर्यटकको आकर्षण बढेकाले आगामी दिनमा थप फाइदा हुने अनुमानसहित केबलकार निर्माण गर्ने तयारी अगाडि बढाएको हो।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २८ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २६ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीमा अग्नि ग्रुपका अर्जुनप्रसाद शर्मा, चितवनको इ ग्रुपको चन्द्रकान्त बराल, राजेशबाबु श्रेष्ठ र अन्य लगानीकर्ताहरुको स्वामित्व छ । चितवन को इ ग्रुप नेपालमा पहिलोपटक केबलकार ल्याउने कम्पनी हो । ग्रुपले सन् १९९८ मा मनकामना केबलकार सञ्चालनमा ल्याएको थियो ।
प्रतिक्रिया