सर्वसाधारणलाई ७ लाख ७४ हजार कित्ता सेयर जारी गर्दै हिम स्टार उर्जा कम्पनी



काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरी अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेगरी नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराएको थियो । जसमध्ये जारी पुँजीको ५ प्रतिशतले हुने १ लाख ८६ हजार ५०० कित्ता साधारण आयोजना प्रभावित स्थतानियलाई छुट्याएको निष्कासन गरीसकेको छ । त्यस्तै सर्वसधारणलाई छुट्याएको सेयरको १० प्रतिशतले हुने ९३ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरिसकेको कम्पनीले कर्मचारीहरु छुट्याएको लाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले असार २४ देखि असार २७ सम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि साउन ६ सम्म थप हुने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सोलुखुम्बुको लिखुपीके गाउँपालिका र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका भएर बग्ने बुकु कापटी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निमर्ण गरीरहेको छ ।

आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।