
एजेन्सी । पाकिस्तान र चीनले सार्कको विकल्पमा नयाँ क्षेत्रीय संगठन बनाउने प्रस्ताव गरेको दी एक्सप्रेस ट्राइब्युन पत्रिकाले खबर दिएको छ ।
दक्षिण एसियाली क्षेत्रको सम्पर्क र एकता बढाउनका लागि नयाँ संगठन आवश्यक रहेको दुवै देशका कूटनीतिकर्मीहरूको बुझाइ रहेको पत्रिकाले उल्लेख गरेको छ ।
यस नयाँ संगठनले सार्कलाई विस्थापित गर्न सक्छ । सार्कमा नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका सदस्य छन् ।
हालै पाकिस्तान, बंगलादेश र चीनका प्रतिनिधिबीच चीनको कुनमिङमा त्रिपक्षीय वार्ता भएको थियो । त्यसमा सार्कका अन्य सदस्य राष्ट्रहरूलाई पनि नयाँ संगठनमा जोडिनका लागि निमन्त्रण गरिने विषयमा सहमति बनेको बताइएको छ ।
तर, बंगलादेशको अन्तरिम सरकारले ढाका, बेइजिङ र इस्लामाबादबीच नयाँ राजनीतिक साझेदारी नभएको जनाएको छ ।
नयाँ संगठनमा भारतलाई पनि निमन्त्रण गरिनेछ । त्यसमा श्रीलंका, माल्दिभ्स र अफगानिस्तान जोडिने अपेक्षा गरिएको छ ।
यस नयाँ संगठनले दक्षिण एसियाली मुलुकहरूको व्यापार र सम्पर्क सञ्जालमार्फत बृहत्तर क्षेत्रीय सम्बन्ध बढाउन खोजेको दी एक्सप्रेस ट्राइब्युनले लेखेको छ ।
भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सार्क लामो समयदेखि निष्क्रिय छ । सन् २०१४ मा काठमाडौंमा भएको शिखर सम्मेलनपछि कुनै पनि सम्मेलन हुन सकेको छैन ।
भारतले सार्कको विकल्पका रूपमा बिमस्टेकलाई अघि सारेको छ । त्यसमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यान्मार र थाइल्यान्ड सदस्य छन् ।








प्रतिक्रिया