होटल सफ्रोन सीकेको लागत एक अर्ब रुपैयाँले बढ्यो, ३ अर्ब लगानीमा बन्ने


काठमाडौं । सफ्रोन सीके होटलको लागत एक अर्ब रुपैयाँले बढेको छ । होटलसँगै क्यासिनो बनाउनका लागि जग्गा थप गर्ने र भवन छुट्टै बनाउने भएकाले होटलको लागत एक अर्ब रुपैयाँले बढेको हो ।

कम्पनीले सुरुमा २ अर्ब ४० लाख रुपैयाँमा होटल निर्माण गर्ने भनिएको थियो । जसमा कम्पनीले ५८ प्रतिशत बैंकबाट कर्जा लिई लगानी गर्ने र ४२ प्रतिशत इक्वीटीबाट लगानी गर्ने योजना बनाएको थियो । तर, अहिले होटलसँगै क्यासिनो सञ्चालन गर्नका लागि आवश्यक जग्गा थप गर्ने र छुट्टै भवन निर्माण गर्ने भएकाले लगानी बढेर ३ अर्ब ९० लाख रुपैयाँ पुगेको छ । साथै, कम्पनीले जग्गाको ल्यान्डस्केपिङ, उचित निकास र सडक बनाउनु परेकाले पनि लगातमा वृद्धि भएको उल्लेख गरेको छ ।

कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ बैंकबाट कर्जा लिई लगानी भएको छ भने १ अर्ब २४ करोड रुपैयाँ इक्वीटीमार्फत् लगानी गर्ने भएको छ । कम्पनीअनुसार १ अर्ब ८५ करोड रुपैयाँ टाइडअप भइसकेको छ । होटथल निर्माणका लागि ७८ प्रतिशत आर्थिक प्रगति भइसकेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

सन् २०१८ मा दर्ता भई निर्माण सुरु गरेको होटल बुटवलमा रहेको छ । उक्त होटल ५ हजार ७ सय ४६ स्क्वायरफिटमा फैलिनेछ । कम्पनीले एक सय ९ वटा कोठाको सुविधासहितको पाँच तारे होटल निर्माण गर्ने भएको छ । होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फरेन्स र बैंक्वेट हल, स्पा र अन्य सुविधा हुनेछन् ।

कम्पनीका अध्यक्ष चुन्नाप्रसाद शर्मा हुन् । उनी यशोदा फुड्स प्रालिको पनि अध्यक्ष हुन् । होटल निर्माणका लागि कम्पनीले होटल व्यवस्थापनको कार्य हायत इन्टरनेशनल साउथ वेस्ट एसियासँग सम्झौता गरेको छ ।

हायत इन्टरनेशनल साउथ वेस्ट एसियाले हायत होटल कर्पोरेशनसँग सहकार्य गरी हायत रेन्सी ब्राण्डमा होटल सञ्चालन गर्दै आएको छ । कर्पोरेशनको २० वटा प्रिमियर ब्राण्ड र १३ सयभन्दा बढी प्रोपर्टी छन् । कम्पनीको ६ वटा महादेश र ७६ वटा देशमा फैलिएको छ ।