वाईवाई बेच्ने सीजी फुड्सको व्यापार ११ प्रतिशतले घट्यो, कतिको गर्‍यो कारोबार ?


काठमाडौं । नेपाली बजारमा वाईवाई ब्राण्डको चाउचाउ बेच्ने सीजी फुड्स नेपालको व्यापार ११ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ११ प्रतिशतले घटेको हो ।

सन् २०२३ मा १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको व्यापार सन् २०२४ मा घटेर ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ भएको हो ।

यो सहायक कम्पनीले उत्पादन गरेको वस्तुको बिक्रीसहितको व्यापार हो । त्यस्तै, सीजी फुड्ले मात्रै सन् २०२४ मा ८ अर्ब १० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२३ मा कम्पनी एक्लैले ९ अर्ब ११ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सहायक कम्पनीबाहेक सीजी फुड्सले मात्रै ५ अर्ब ७१ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ ।

सीजी फुड्स चौधरी ग्रुपअन्तर्गतको सबैभन्दा पुरानो उद्योग हो । कम्पनीका भिन्नभिन्न तीनवटा स्वामित्व भएका सहायक कम्पनीहरु छन् । कम्पनीले विशेषगरी एफएमसीजी अर्थात् छिटो बिक्री हुने वस्तु जस्तै चाउचाऊ, पेया पदार्थ र स्न्याक्स उत्पादन गरी नेपाली बजारमा बिक्र िवितरण गर्दै आएको छ ।

सन् १९८४ बाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले थाई प्रिजर्म फुड फ्याक्ट््रीसँग सम्झौता गरी नेपाली बजारमा व्यापार गर्दै आएको छ । कम्पनीले रियो क्विक आदिजस्ता वस्तु उत्पादन गरी नेपाली बजारमा व्यापार गरिरहेको छ । साथै, कम्पनीको वाईवाई ब्राण्डको चाउचाउ निकै प्रख्यात रहेको छ । जसले कम्पनीको व्यापारसँगै बजार कब्जा गरिरहेको छ ।

निरभाना चौधरीको ७६ प्रतिशत, एमएस अपोलो इन्भेष्टमेन्टको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत र बाँकी शेयर अन्य तीन जनाको स्वामित्व रहेको छ । कम्पनीले आइपीओ जारी गर्ने तयारीसहित सन् २०२३ मा मात्रै पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ९९ करोड ५५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पनि ६ प्रतिशतले व्यापार घटेको छ । वाईवाईले बजारमा नेतृत्व स्थितिमा रहेको छ । तर, अहिले स्वदेशी तथा विदेशी चाउचाउको ब्राण्डको उदयसँगै बजारमा उच्च प्रतिस्पर्धा छ । पछिल्लो समय मानिसहरुको स्वादले नयाँपन खोज्दा मसालेदार चाउचाउ प्रति रुची बढेको छ । जसले गर्दा कम्पनीको व्यापारमा कमी आएको रेटिङमा उल्लेख छ ।

कम्पनीले पनि बजारमा मसालेदार चाउचाउको माग बढेसँगै नयाँ स्वादको चाउचाउ उत्पादन गरी बिक्री वितरण गरिरहेको अवस्था छ । तर, उक्त वस्तुको व्यापार कस्तो हुनेछ भन्नेबारे देख्न बाँकी रहेको कम्पनीको भनाइ छ ।