
एजेन्सी । तिब्बती धर्मगुरु दलाई लामाले ९०औं जन्मदिनको पूर्वसन्ध्यामा बौद्ध भिक्षुहरूमाझ सम्बोधन गर्ने भएका छन् ।
उनका अनुयायीहरूले उक्त अवसरमा उत्तराधिकारीको घोषणा हुन सक्ने अपेक्षा गरिरहेका छन् ।
चीनले दलाई लामाको सम्बोधनलाई चासोका साथ हेर्ने सम्भावना छ । बेइजिङले तिब्बतबाट सन् १९५९ मा पलायन भएका दलाई लामालाई पृथक्तावादी नेता मान्ने गरेको छ । दलाई लामाको उत्तराधिकारी आफूले छान्ने चीनले बताउँदै आएको छ ।
दलाई लामाले आफ्ना उत्तराधिकारी चीनबाहिर जन्मिने बताएका छन् । बेइजिङले छानेको उत्तराधिकारीलाई बहिष्कार गर्न उनले अनुयायीहरूलाई आग्रह गरेका छन् ।
१४औं दलाई लामा आउँदो आइतवार ९० वर्ष पुग्दैछन् । उनले त्यस अवसरमा आफ्ना सम्भावित उत्तराधिकारीको बारेमा वरिष्ठ भिक्षुहरूसँग सल्लाह गर्ने बताएका छन् ।
आफू भारतमा पुनर्जन्म लिन सक्ने दलाई लामाले यसअघि बताएका थिए । उनी आफैं भारतको हिमाचल प्रदेशमा रहेको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् । १३औं दलाई लामाको पुनर्जन्मका रूपमा उनलाई २ वर्षको उमेरमा पहिचान गरिएको थियो ।
धर्मशालामा रहेको निर्वासित तिब्बती संसद्की उपसभामुख डोल्मा छिरिङ तेखाङले दलाई लामाकै मुखबाट उत्तराधिकारीको बारेमा सुन्नु आवश्यक रहेको बताइन् । चीनले दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियालाई हडप्न खोजेको सन्दर्भमा दलाई लामाले यस विषयमा छिटो निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
दलाई लामा जीवितै हुँदा उत्तराधिकारीको चर्चा प्रायः नहुने गरेको तर अहिले चीन सरकारले राजनीतिक हस्तक्षेप गरिरहेकाले यसमा पहल गर्नुपरेको तिब्बतका प्रमुख भविष्यवेत्ता थुप्तेन न्गोदुपले बताए ।
दलाई लामा राजनीतिक रूपमा निर्वासित व्यक्ति भएकाले तिब्बतीहरूलाई प्रतिनिधित्व गर्ने अधिकार उनीसँग नरहेको बेइजिङले गत मार्च महिनामा जनाएको थियो । तिब्बत र ताइवान चीनको अभिन्न अंग भएको भी दलाई लामाले स्वीकार गरेमा उनको भविष्यका विषयमा छलफल गर्न सकिने चीनको प्रस्ताव छ । तर, निर्वासित तिब्बती सरकारले यस प्रस्तावलाई खारेज गरेको छ ।










प्रतिक्रिया