
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनी लामो समयदेखि सार्वजनिक स्थानमा नदेखिएपछि इरानीहरूले चिन्ता व्यक्त गरेका छन् ।
इजरायलसँगको भीषण द्वन्द्वपछि खमेनीको स्थितिका विषयमा इरानीहरूले चासो देखाएका हुन् ।
खमेनीको कार्यालयका वरिष्ठ अधिकारी मेहदी फजाएलीले सर्वोच्च नेताको बारेमा चिन्ता व्यक्त गर्दै इरानी जनताले सन्देशहरू पठाइरहेको बताए ।
द न्युयोर्क टाइम्सका अनुसार, फजाएलीले पनि खमेनीको अद्यावधिक स्थितिको बारेमा जानकारी दिएनन् । सर्वोच्च नेताको सुरक्षामा खटिएका व्यक्तिहरूले राम्रो काम गरिरहेको र अल्लाहले चाहेमा जनताले सर्वोच्च नेतासँगै विजय उत्सव मनाउन पाउने भनी उनले टिप्पणी गरे ।
इजरायलसँगको युद्ध चलिरहँदा अमेरिकाले इरानका तीन आणविक केन्द्रमाथि गरेको बम प्रहार र त्यसपछि इरानले अमेरिकी सैन्यअड्डामा गरेको आक्रमणपछि युद्धविराम भएको थियो ।
यो सब हुँदै गर्दा खमेनी एकपटक पनि सार्वजनिक स्थानमा देखिएनन् र विगत एक हप्तामा उनले कुनै बयान जारी गरेका छैनन् ।
रोयटर्स समाचार संस्थाले गरेको खोजमा ८६ वर्षीय खमेनी आफ्नो परिवारसँग लुकेर बसेको उल्लेख छ । उनलाई रिभोल्युशनरी गार्ड्सको वली–ए–अम्र इकाइले सुरक्षा दिइरहेको छ ।
उनलाई आन्तरिक मामिलाका विषयमा निरन्तर अद्यावधिक जानकारी दिइने गरेको बताइएको छ ।
खमेनी स्वयंले दुई वर्षअघि तीन सदस्यीय समिति गठन गरी आफ्नो उत्तराधिकारी चयन प्रक्रियालाई तीव्र बनाएका छन् ।
खमेनीको मृत्युलगत्तै संस्थापन पक्षले नयाँ नेता चयन गरेर राष्ट्रिय स्थिरता कायम गराउने बताइएको छ ।
खमेनीका उत्तराधिकारीको दौडमा उनका छोरा मोजतबाका साथै इस्लामी गणतन्त्रका संस्थापक आयातोल्लाह खोमेनीका नाति हसन खोमेनी पनि अग्रपंक्तिमा छन् ।
इजरायलले जुन १३ देखि २४ सम्म गरेको आक्रमणमा इरानका शीर्ष सैन्य अधिकृत र आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ । त्यस आक्रमणले क्षेत्रीय युद्ध नै भड्किने हो कि भनी डर उत्पन्न भएको थियो । इरानले उक्त आक्रमणमा ६२७ जनाको ज्यान गएको र तीमध्ये अधिकांश सर्वसाधारण भएको जनाएको छ ।
इरानी प्रत्याक्रमणमा परेर इजरायलमा २८ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।








प्रतिक्रिया