
काठमाडौं । वैद्य ग्रुप र वेलहोप ग्रुपको संयुक्त लगानी रहेका नेपाल वेलहोप एग्री टेक प्रालिले गत आर्थिक वर्षमा करिब ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब ८६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ५ अर्ब २२ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार हेर्दा पछिल्लो तीन वर्षमा व्यापार निरन्तर घटेको पाइएको छ । त्यस्तै, सन् २०२४ मा सन् २०२३ को तुलनामा ७ प्रतिशतले व्यापार घटेको छ ।
कम परिमाणमा दाना बिक्री हुँदा व्यापारमा प्रभाव परेको कम्पनीको भनाइ छ । सन् २०२४ मा ७४ हजार ४ सय ३६ मेट्रिन टन दाना बिक्री भएको थियो । कम्पनीले सन् २०२४ मा ०.३० प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२३ मा २.६० प्रतिशत नाफा कमाएको थियो ।
साथै, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३ अर्ब ७६ करोड ४० लाख रुपैयाँ व्यापार गरिसकेको छ ।
सन् २००५ मा स्थापना भएको कम्पनी चीनबाट सञ्चालित कम्पनी हो । कम्पनीले कुखुराको दाना र अन्य जीवजन्तुको दाना उत्पादन गर्दै आएको छ । कम्पनीको देशभर ६ सय वटा डिलर छन् । कम्पनीले विशेषगरी बोइलर, लेयर्स दानासहित माछा, बंगुर, गिरीराज र बाख्राको दाना उत्पादन गरी देशभर बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले वैद्य पेलेट दाना ब्राण्डमा उत्पादित दाना बिक्री गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब २८ करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९८ करोड ५२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने गरेको उल्लेख छ । कम्पनीले विशेषगरी मकै, धान, दालहरु र आयल केकमा सोया केक, सोया आयाल र तोरी जस्ता कच्चा पदार्थ भारत र चीनबाट आयात गर्ने गरेको छ । कम्पनीको व्यापार गाइवस्तुका दाना, बंगुर, माछा, ब्रोइलर, लेयर्स र गिरीराज कुखुराको दानाबाट हुने गरेको छ । त्यसमध्ये पनि बोइलर र लेयर्स कुखुराको दानाबाट उच्च व्यापार हुने गरेको कम्पनीको भनाइ छ ।
सन् २०२४ मा यी दुई दानाबाट मात्रै ८७ प्रतिशत व्यापार गरेको रेटिङमा उल्लेख छ । सन् २०२३ मा ९१ प्रतिशत व्यापार बोइलर र लेसर्य कुखुराको दानाबाट भएको थियो ।
वैद्य ग्रुप र वेलहोप ग्रुपको बराबर हिस्सा रहेको कम्पनीका अध्यक्ष सुरेश वैद्य हुन् । कम्पनीले उत्पादित दाना ३० देखि ५० केजीको बोरा बिक्री वितरण गर्दै आएको छ ।







प्रतिक्रिया