पश्चिम एसियाले पार्न छोड्यो तेलको मूल्यमा असर

1.1k
Shares

काठमाडौं । इजरायल र इरानबीचको द्वन्द्वपछि देखिएको तेलको मूल्यको सामान्य उतारचढावले ऊर्जा बजारको प्रभावकारिता बढिरहेको र विश्वव्यापी रूपमा हुने कच्चा तेलको आपूर्तिमा आधारभूत परिवर्तन आएको तथ्यलाई उजागर गरेको छ ।

विगतमा जस्तो पश्चिम एसियाको राजनीतिले तेल बजारलाई व्यापक असर पुर्‍याउन छोडेको यसबाट देखिएको छ ।

इजरायलले इरानमाथि अचानक आक्रमण गरेपछि तेलको मूल्य बढ्नु स्वाभाविक थियो तर पश्चिम एसियाका यी दुई प्रतिस्पर्धीबीचको द्वन्द्वले पनि तेलको मूल्य सामान्य मात्र बढायो ।

इजरायली आक्रमणको अघिल्लो दिन जुन १२ मा कच्चा तेलको मूल्य ७० डलर प्रतिब्यारल रहेको ब्रेन्टको आँकडाले देखाउँछ । द्वन्द्व चल्दै गर्दा जुन २३ मा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेपछि तेलको मूल्य ८१.४० डलर प्रतिब्यारल पुगेको थियो ।

तर, त्यही दिन तेलको मूल्य स्वाट्टै घट्यो । इरानले वाशिङटनविरुद्ध प्रत्याक्रमण गर्ने क्रममा कतारमा रहेको अमेरिकी सैन्य अड्डामा पूर्वसूचना दिएर गरेको क्षेप्यास्त्र प्रहार खासमा तनाव मत्थर पार्ने कदम थियो भन्ने कुरा प्रस्ट भएपछि तेलको मूल्य घटेको हो ।

त्यसपछि मंगलवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि राजी भएको घोषणा गरेपछि तेलको मूल्य द्वन्द्व सुरु हुनुअघिकै मूल्य ६७ डलर प्रतिब्यारलमा झरेको थियो ।

इरानले संसारको लगभग २० प्रतिशत ढुवानी हुने होर्मुज जलमार्गमा नाकाबन्दी लगाउने आशंका गरिएको भए पनि त्यसो गरेन । द्वन्द्व अवधिभरि पश्चिम एसियाबाट तेलको प्रवाहमा कुनै कमी आएन । त्यसैले द्वन्द्वभरि विश्व बजार आत्तिएन ।

यस द्वन्द्वका दौरान तेलको मूल्यमा १५ प्रतिशतको मात्र वृद्धि र घटी भएको देख्दा तेल व्यापारी र लगानीकर्ताहरूले पश्चिम एसियामा भूराजनीतिक तनाव हुँदा उत्पन्न हुने जोखिमलाई महत्त्व दिन छोडेको अनुभूति हुन्छ ।

विगतमा त्यही क्षेत्रमा भएका तनावका कारण तेलको मूल्यमा परेको असरलाई विचार गरौं । सन् १९७३ मा अरब जगतले तेलको नाकाबन्दी लगाएपछि तेलको मूल्य चारगुणा बढेको थियो । सन् १९७९ मा इरानमा इस्लामी क्रान्ति भएपछि इरानी तेलको उत्पादनमा आएको अवरोधले तेलको मूल्य दोब्बर बढाएको थियो ।

सन् १९९० को अगस्ट महिनामा इराकले छिमेकी मुलुक कुवेतमाथि आक्रमण गर्दा कच्चा तेलको मूल्य अक्टोबर महिनाको मध्यतिर आउँदासम्म दोब्बर भएर ४० डलर प्रतिब्यारल पुगेको थियो । त्यस्तै, सन् २००३ मा इराक युद्ध सुरु हुँदा तेलको मूल्यमा ४६ प्रतिशत वृद्धि भएको थियो ।

तेलमाथिको नाकाबन्दीको समयबाहेक तेल आपूर्तिमा आएका अन्य अवरोधहरू छोटो अवधिका लागि मात्र थिए तर तिनीमाथि बजारहरूले तीव्र प्रतिक्रिया दिएका थिए ।

हुन त द्वन्द्वहरूलाई तुलना गर्दा होसियार हुनुपर्छ किनकि प्रत्येक द्वन्द्व आफैंमा अद्वितीय हुन्छ । तर, पश्चिम एसियामा भएका अवरोधप्रति तेल बजारको प्रतिक्रिया हालका दशकहरूमा सामान्य बन्दै गएको छ ।

पश्चिम एसियाको जोखिम मूल्यांकनमा आएको यो परिवर्तनका बारेमा अनेकौं व्याख्या छन् ।

पहिलो, विगतमा भन्दा समाचार, तथ्यांक र प्रविधिमा पहुँच बढेकाले बजारहरू भावनात्मक भन्दा पनि तर्कशील हुन थालेका छन्।

लगानीकर्ताहरू ऊर्जा बजारको अवस्थाको अद्यावधिक विवरण हासिल गर्ने विषयमा चनाखो छन् । भूउपग्रहीय माध्यमले पानीजहाजहरूको निगरानी र तेल उत्खनन केन्द्र, बन्दरगाह र प्रशोधन केन्द्रहरूलाई आकाशबाट खिचिएको तस्वीरमार्फत व्यापारीहरूले तेल तथा ग्यास उत्पादनको अनुगमन गर्न सक्छन् । यसले गर्दा विगतका दशकहरूको तुलनामा उनीहरूलाई आपूर्ति र मागको सन्तुलनलाई थप राम्रोसँग बुझ्नका लागि समर्थ बनाउँछ ।

यस पछिल्लो द्वन्द्वमा बजारहरूले तर्कसम्मत प्रतिक्रिया दिए । तेल आपूर्तिको जोखिम बढ्दा मूल्य पनि बढ्यो तर अत्यधिक बढेन । लामो समयसम्म जलक्षेत्रमा हुने गतिविधिलाई अवरोध गर्न सक्ने क्षमता वा इच्छा इरानसँग रहेको विषयमा आशंका रहेकाले मूल्यमा चर्को वृद्धि नभएको हो ।

मूल्यमा सामान्य घटबढ हुनुको अर्को व्याख्या पनि छ । पश्चिम एसियाका तेल उत्पादकहरूले विगतको द्वन्द्वबाट सिकेर तेलको आपूर्तिमा आउन सक्ने बाधाको असरलाई सीमित बनाउनका लागि वैकल्पिक निर्यात मार्ग तथा भण्डारण केन्द्र बनाएका छन् ।

संसारको सबभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरबले लगभग ९० लाख ब्यारल प्रतिदिन उत्पादन गर्ने गरेको छ । त्यो विश्वभरिको मागको लगभग १० प्रतिशत हो । साउदीले खाडीबाट पश्चिममा रहेको लाल सागरको बन्दरगाह शहर यान्बुसम्म पुग्ने कच्चा तेलको पाइपलाइन बनाइसकेको छ । त्यसले गर्दा साउदीले होर्मुज जलमार्गलाई छल्ने विकल्प पाएको छ ।

यस पाइपलाइनसँग ५० लाख ब्यारल प्रतिदिन बराबरको क्षमता छ र यसलाई थप २० लाख ब्यारल प्रतिदिनका दरले बढाउन सकिन्छ ।

यसबाहेक तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकको प्रमुख सदस्य संयुक्त अरब अमिरात (यूएई)ले ३३ लाख ब्यारल प्रतिदिनको दरले कच्चा तेल उत्पादन गर्छ ।

यूएईले होर्मुज जलमार्गको पूर्वतर्फ रहेको फुजेरा तेल टर्मिनलसँग आफ्ना तेल उत्खनन केन्द्रहरूलाई १५ लाख ब्यारल प्रतिदिनको दरले प्रवाह हुने पाइपलाइन बनाएको छ ।

यी दुई देशबाहेक कुवेत र इरानसँग पनि एसिया र युरोपमा उल्लेख्य भण्डारण सुविधा छ । त्यसले गर्दा उनीहरू सानोतिनो अवरोध आउँदा पनि ग्राहकहरूलाई तेल आपूर्ति गरिरहन सक्छन् ।

संसारभरि आपूर्ति हुने ऊर्जाको सानो प्रतिशत मात्र पश्चिम एसियाबाट आउने भएकाले पनि त्यस क्षेत्रमा हुने अवरोधका बारेमा संसारको चिन्ता घट्नु महत्त्वपूर्ण कारण हुन सक्छ ।

हालका दशकमा अमेरिका, ब्राजिल, गायाना, क्यानडा र चीनमा समेत तेल उत्पादन बढ्न थालेको छ ।

सन् १९७० को दशकमा ओपेकले विश्वव्यापी तेल आपूर्तिको ५० प्रतिशतभन्दा बढी भाग ओगट्ने गरेको थियो भने सन् २०१० मा आइपुग्दा त्यो संख्या घटेर ३७ प्रतिशतमा झरेको थियो । सन् २०२३ मा त झन् त्यो ३३ प्रतिशत मात्र रहेको इन्टरनेशनल इनर्जी एजेन्सीको तथ्यांकले देखाउँछ । संसारमा ऊर्जाको सबभन्दा ठूलो ग्राहक अमेरिकामा शेल भनिने तेलको उत्पादनमा वृद्धि भएकाले पनि पश्चिम एसियाको तेल आपूर्तिमा कमी आएको हो ।

यो पछिल्लो द्वन्द्वमा विश्वव्यापी तेल बजारमा आपूर्ति पर्याप्त मात्रामा भएको थियो र त्यसले चिन्ता घटाउन सहायता गरेको थियो ।

पश्चिम एसियाको राजनीति र ऊर्जाको मूल्यका बीचमा रहेको सम्बन्ध शायद स्थायी रूपमै खुकुलो हुँदै गएको प्रमाण इजरायल इरान युद्धले देखाएको छ । त्यसैले भूराजनीतिक जोखिमहरू त बढ्दै जालान् तर त्यससँगै ऊर्जाको मूल्य बढ्ला भनी अपेक्षा गर्न मिल्दैन ।

(रोयटर्स समाचार संस्थाको अनलाइन संस्करणमा प्रकाशित रोन बोस्सोको लेखलाई क्लिकमान्डुका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।)