गाजामा बम विस्फोट हुँदा ७ इजरायली सैनिकको मृत्यु



एजेन्सी । गाजापट्टिमा इजरायली सैनिकहरू चढेको सशस्त्र गाडीमा विस्फोट हुँदा सातजनाको मृत्यु भएको छ ।

मंगलवार भएको उक्त घटनामा मारिएका सैनिकहरूको नाम बुधवार सार्वजनिक गरिएको छ ।

विगत केही महिनायता इजरायली सेनाले बेहोरेको यो सबभन्दा ठूलो क्षति हो ।

ती सैनिकहरू ६०५औं कम्ब्याट इन्जिनियरिङ बटालियनमा कार्यरत थिए ।

गाजामा हमासविरुद्ध सैन्य कारवाही चलाइरहेको इजरायलले अहिलेसम्म ४४० जना सैनिक गुमाइसकेको छ ।

इजरायल डिफेन्स फोर्सेसले गरेको अनुसन्धानमा हमासका लडाकूले इजरायली सैनिकहरू चढेको गाडीमा बम जडान गरेको पाइएको छ । ती सैनिकहरू खान युनिस क्षेत्रमा हुँदाखेरी बम विस्फोट भएको हो ।

विस्फोटका कारण गाडीमा आगो लागेको थियो । आगो निभाउने सबै प्रयास विफल भएको थियो ।

आगोका कारण गाडीभित्रका सबै सैनिकको ज्यान गएको थियो । डढेको गाडीको अवशेष पछि गाजाबाट अन्यत्र लगिएको थियो ।

हमासले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

खान युनिस क्षेत्रमै भएको अर्को घटनामा ६०५औं बटालियनका दुईजना सैनिकहरू घाइते भएका थिए । घाइतेमध्ये एकको स्थिति गम्भीर छ । ती सैनिकहरूले बुलडोजर चलाइरहेको बेलामा आरपीजी बन्दूकबाट गोली चलाइएको थियो ।