
काठमाडौं । पशुपति सेरामिक प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा सवा ७५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा ७५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ को अप्रिलबाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले गत वर्ष १५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले गत वर्ष तीन महिनाको अवधिमा सो व्यापार गरेको हो ।
सन् २०२३ मा स्थापना भएको कम्पनीले भुई तथा पार्केटिङ टायलको उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
सिमरामा उत्पादन उद्योग रहेको कम्पनीसँग वार्षिक ८१ हजार मेट्रिक टन उत्पादन क्षमता छ ।
तुलसी साहको ४८ प्रतिशत, अशोककुमार चाङ्नानलाल भिवानीको २६ प्रतिशत र याग्नेस नग्जीभाइ र साराङभाइ दिनेसभाइको १३/१३ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९४ करोड रुपैयाँको रेटिङ गराएको छ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ६४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले चालु आवमा ७५ करोड रुपैयाँको कारोबार गर्दा २५ प्रतिशत नाफा कमाएको जनाएको छ । सरकारले तयारी टायलको आयातमा ४० प्रतिशत भन्सार शुल्क लिने व्यवस्था छ । तर, उक्त सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आयातमा भने ५ प्रतिशत मात्रै भन्सार शुल्क तोकेको छ ।
कम्पनीले निर्माण गरिरहेको उद्योगका लागि आवश्यक सामग्रीको मूल्य वृद्धि हुँदा लागत बढेको जनाएको छ । कम्पनीकाअनुसार सुरुमा ८१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरेकोमा अहिले बढेर एक अर्ब रुपैयाँ पुगेको छ । कम्पनीका लगानीकर्ताहरुले हालसम्ममा ३३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।







प्रतिक्रिया