सम्पत्ति शुद्धीकरणविरूद्ध सामूहिक रूपले लागौं: अध्यक्ष ओझा

252
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरुद्ध रोकथामका उपायहरू अवलम्बन गर्न बिमा कम्पनीहरू केन्द्रित हुनुपर्ने बताएका छन् ।

एएमएल/सीएफटी कार्यान्वयनबारे दक्षता अभिवृद्धिका लागि प्राधिकरणले आयोजना गरेको दुई दिने कार्यक्रममा अध्यक्ष ओझाले बिमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका लागि आन्तरिक रूपमा तालिमहरू आयोजना गरी शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरूलाई समेत सम्पत्ति शुद्धीकरण विरूद्ध जागरूक गराउनुपर्ने बताए ।

सम्पत्ति शुद्धीकरण विरुद्ध रोकथामका उपायहरू अवलम्बन गर्न बिमा कम्पनीहरू केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष ओझाले भने, ‘बिमा कम्पनीहरूको जोखिमाङ्कन ठिक हुनुपर्छ, एउटाले जोखिम देख्ने अर्कोले नदेख्ने हुनसक्दैन, जोखिमलाई सबैले जोखिमनै देखे अस्वस्थ प्रतिस्पर्धा पनि हुँदैन, यसबाट दीर्घकालमा बिमा क्षेत्रलाई नै सहयोग पुग्छ ।’

शङ्कास्पद जोखिम पहिचान भएमा त्यसका बारेमा शिघ्रतापूर्वक सम्बन्धित निकायलाई जानकारी दिन बिमा कम्पनीहरूलाई निर्देशन दिनुहुँदै अध्यक्ष ओझाले भने, ‘बिमा क्षेत्रमा अवैध रकम छिर्नबाट रोक्न तल्लो तहसम्म आजै बाटै सकारात्मक प्रयास गरौं, कर्मचारीहरूलाई जोखिम पहिचान गर्न सक्षम बनाऔं, सम्पत्ति शुद्धीकरण विरूद्ध सामूहिक रूपले लागौं, यसबाट बिमा क्षेत्रलाई सुव्यवस्थित बनाउन सहयोग पुग्छ ।’

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कार्यक्रममा सिकेका ज्ञानलाई कार्यस्थलमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गरे ।

दुई दिनसम्म भएको कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विद्यमान ऐन, नियम, प्राधिकरणबाट जारी भएका निर्देशिका एवम् निर्देशनहरू, सम्पत्ति शुद्धीकरण विरूद्ध एफएटीएफले तय गरेका मापदण्ड लगायत सम्पत्ति शुद्धीकरणविरूद्ध अवलम्बन गर्नुपर्ने उपायहरू लगायत समग्र विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

कार्यक्रम समापन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका लागि आन्तरिक रूपमा तालिमहरू आयोजना गरी शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरूलाई समेत सम्पत्ति शुद्धीकरण विरूद्ध जागरूक गराउनुपर्ने बताए ।

त्यस अवसरमा अध्यक्ष ओझाले कार्यक्रमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण, जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघु जीवन बिमा कम्पनी, लघु निर्जीवन बिमा कम्पनी र पुनर्बिमा कम्पनीका गरी ४७ जना एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।