नेपाल ल्यूब आयलले ९ महिनामा गर्‍यो साढे ८९ करोड रुपैयाँको व्यापार

0
Shares

काठमाडौं । गल्फ ब्राण्डको लुब्रिक्यान्ट बेच्ने नेपाल ल्यूब आयलले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे ८९ करोड रुपैयाँको व्यापार गरेका छ ।

सन् २०२४ मा १ अर्ब १७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ९२ करोड ७० लाख र सन् २०२२ मा १ अर्ब २४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ मा व्यापार २७ प्रतिशतले बढाएको कम्पनीले जनाएको छ । साथै, सन् २०२५ मा पनि व्यापार बढ्ने अनुमान गरेको छ ।

सन् २०२३ मा ५० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले सन् २०२४ मा ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सन् १९८४ मा स्थापना भएको कम्पनीले सवारी साधनमा प्रयोग हुने लुब्रिक्यान्ट, औद्योगिक लुब्रिक्यान्ट र ट्रान्सफर्मर आयल उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले गल्फ आयल इन्टरनेशनलको लाइसेन्स प्राप्त गरी नेपाली बजारमा गल्फ ब्राण्डको लुब्रिक्यान्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५८ करोड ३९ लाख रुपैयाँको रेटिङ गराएको छ । दीर्घकालीन कर्जाका लागि ४ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५४ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीमा २० प्रतिशत सरकारको र ८० प्रतिशत निजी क्षेत्रको लगानी छ । अरुणकुमार चौधरी अध्यक्ष रहेको कम्पनीमा करणकुमार चौधरी निर्देशक छन् । त्यस्तै नेपाल आयल कर्पोरेशनको निर्देशकसमेत रहेका नागेन्द्र शाह पनि कम्पनीका निर्देशक छन् ।