प्रधानमन्त्रीको निर्देशन: एक वर्षभित्र दैलेखको ग्यास उपयोगमा ल्याउनु, बजेटको कमी हुँदैन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र उक्त ग्यास उपयोगमा ल्याएर परीक्षण उत्पादन गर्नका लागि आवश्यक पर्ने बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि दिएका छन् ।

दैलेखमा भेटिएको ग्याँसका विषयमा आइतबार राति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् ।

दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न ग्याँस अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित मन्त्रालय र खानी विभागका अधिकारीहरुले प्रधानमन्त्री ओलीलाई आइतबार अवगत गराएका थिए ।

उद्योग मन्त्री भण्डारीले चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्याँस रहेको पुष्टि भएको बताएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिकारीहरुले दैलेखमा एक ठाउँमा गरिएको ड्रिल साइट(कुवा) मा ११२.१ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रहेको अनुमान गरिएको अवगत गराएका थिए ।

बाँकी तीन कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कूल ४ सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यासको आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना देखिएको छ ।

त्यसबाट उत्साहित प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्याँसको परीक्षण उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएको भेटमा सहभागी एक अधिकारीले बताए ।

धौबादीमा १०० वर्षका लागि पुग्ने फलाम खानी

यसैगरी, पूर्वी नवलपरासीको धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ कार्य तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा पनि प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो ।

आगामी एक सय वर्षका लागि पुुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन् गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलामरस्टिल उत्पादन गर्न सकिने कम्पनीको प्रस्तुति थियोे ।

प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलामरस्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिएका थिए । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरुलगायत सहभागी थिए ।