मारुती सिमेन्टले ९ महिनामा गर्‍यो ४ अर्बको व्यापार, लगानी थप गरी क्षमता बढाउँदै


काठमाडौं । मारुती सिमेन्ट कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनामा ३ अर्ब ९८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ, २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा कम्पनीको व्यापार ९.५३ प्रतिशतले बढेको पाइएको छ । कम्पनीकाअनुसार सन् २०२४ मा आर्थिक सुस्ताता हुँदा पनि व्यापार बढेको छ ।

सन् १९९४ मा स्थापना भएको कम्पनी राठी ग्रुप र गोयल ग्रुपको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको छ । कम्पनीले क्लिंकर र सिमेन्ट उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीसँग दैनिक १५ सय मेट्रिक टन र २ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ ।

कम्पनीले क्लिंकर तथा सिमेन्टको उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले लगानी थप गरी क्लिंकर प्लान्टलाई विस्तार गर्ने भएको हो । कम्पनीले दैनिक १५ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्दै आएकोमा उद्योग विस्तार गरी १८ सय मेट्रिक टन क्षमतामा उत्पादन गर्ने गरी उद्योग विस्तार गर्ने भएको छ । त्यस्तै सिमेन्ट उत्पादन क्षमता पनि दैनिक २ हजार मेट्रिक टनबाट ४ हजार मेट्रिक टन क्षमतामा उत्पादन गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६ अर्ब ४९ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४ अर्ब १३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ५९ करोड ३२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको अध्यक्ष नन्दकिशोर राठी हुन् भने व्यवस्थापन निर्देशक सुनिल खेम्का हुन् । कम्पनीले उत्पादन गरेको सिमेन्ट मारुती ब्रान्डमा बिक्री वितराण गर्दै आएको छ । कम्पनीले हालसम्म ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको छ । कम्पनीको देशभर २ सय डिलर छन् ।