
काठमाडौं । पछिल्लो पाँच वर्षको अवधीमा नेपालबाट निर्यात दरले ठूलो छलाङ नै मारेको छ ।
पछिल्लो दुई आर्थिक वर्षमा ऋणात्मक रहेको निर्यात दर चालु आर्थिक वर्षमा आश्चर्यजनक रुपमा धनात्मक अवस्थामा मात्रै पुगेको छैन, बरु पछिल्लो पाँच आर्थिक वर्षको रेकर्ड नै तोड्ने गरी मौलिक र भ्यालु एडिसन गरिएका नेपाली बस्तु विभिन्न मुलुकमा निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा माइनस ३.०३ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा माइनस २१.४४ प्रतिशतमा नेपालको निर्यात दर पुगेको थियो । अर्थात पछिल्लो पाँच आर्थिक वर्षको अवधीमा यो दुई वर्षमा निर्यात दरको अवस्थामा ऋणात्मक अवस्थामा पुगेको थियो ।
ऋणात्मकबाट धनात्मकतर्फ निर्यात दर पुग्नु र पाँच वर्ष यता सबैभन्दा परिमाणमा निर्यात हुनु भएको पछिल्लो समयमा मुलुकको आर्थिक अवस्थामा सुधार हुँदै जानुलाई पनि संकेत गर्छ ।
पछिल्लो ५ वर्षको अवधीमा सबैभन्दा बढी आर्थिक वर्ष २०७७/७८ मा ४४.४३ प्रतिशतले नेपाली वस्तुको निर्यात भएको थियो भने त्यसभन्दा केहि कम परिमाणमा आर्थिक वर्ष २०७८/७९ मा ४१.७४ प्रतिशतले निर्यात दरमा सुधार भएको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याँकअनुसार दुई वर्षको ऋणात्मक अवस्थामा सुधार हुँदै चालु आर्थिक वर्षको ११ महिनामा भने नेपालले पाँच वर्षमा सबैभन्दा बढी अर्थात ७७.७७ प्रतिशत बढी २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको हो ।
यसमा पनि सबैभन्दा बढी भारतमा २ खर्ब ८९ करोड ८१ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालले निर्यात गरेको हो । बाँकी ठूलो रकमको आधारमा अमेरिकामा १६ अर्ब ३१ करोड ४४ लाख रुपैयाँबराबरको विभिन्न सामान निर्यात गरेको छ ।
गत् आर्थिक वर्ष २०८०/८१ को एघार महिनाको अवधीमा १ खर्ब ३० अर्ब २६ करोड २३ लाख रुपैयाँबराबरको विभिन्न सामान नेपालले भारतसहित तेश्रो मुलुकमा निर्यात गरेको थियो ।
के के भयो अत्यधिक निर्यात ?
चालु आर्थिक वर्षको ११ महिनाको अवधीमा सबैभन्दा बढी अर्थात निर्यातको अग्रसुचीमा सोयावीन तेल निर्यात भएको छ । यो अवधीमा ९३ अर्ब ५१ करोड ६७ लाख रुपैयाँबराबरको ४४ करोड २६ लाख ५१ हजार लिटर सोयाविन तेल भारतमा निर्यात भएको छ ।
यसैगरी दोश्रोमा सर्वाधिक निर्यात हुने सुचीमा सनफ्लावर तेल ११ अर्ब ३३ करोड ८९ लाख रुपैयाँबराबरको ५ करोड १० हजार लिटर भारतमै निर्यात भएको छ ।
केहि वर्ष अघिसम्म नेपालबाट निर्यात हुने वस्तुमा पाम आयल अग्रपंक्तिमा आउथ्यो । पछिल्लो १० वर्षको आयात निर्यातको तथ्यांकलाई विश्लेषण गर्ने हो भने निर्यातको अग्रपंक्तिमा रहेको पाम आयल विस्तारै ओरालो बाटोमा लाग्दै गएको पाइएको छ ।
निर्यातको सूचीमा पहिले अग्रपंक्तिमा नेपालको मौलिक उत्पादनले वर्चस्व कायम गर्दै गरेकोमा पछिल्लो दशकमा त्यसलाई विस्थापित गर्दै विस्तारै सर्वाधिक निर्यातमा पाम आयल उक्लिँदै गएको थियो । तर यो धेरे समयसम्म टिक्न सकेन ।
पाम आयलको स्थान पछिल्लो समयमा तल झर्दै गएको अवस्थामा सोयाबिन आयल भने निर्यातमा अप्रत्याक्षित रुपमा छलाङ मारेको छ । अहिलेसम्मको निर्यातको इतिहासमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सोयाबिन आयल सर्वाधिक परिमाण र मूल्यको निर्यात भएको छ ।
पाम आयलको आयात र निर्यातको आकार खुम्चिँदै गर्दा अर्कोतर्फ भने सोयाविन तेल र सनफ्लावर तेलको निर्यातले इतिहास रच्न थालेको भन्सार विभागको तथ्यांकले पुष्टि गरेको छ ।
यो तथ्यांकले के देखाउँछ भने बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भ्यालु एडिसन गरेको आधारमा यस्ता वस्तुको निर्यात बढ्दै गएको छ भने अर्कोतर्फ विगतदेखि निर्यातको उच्चतम स्थानमा रहेको नेपालको आफ्नै मौलिक उत्पादन अलैची, कफी, चियालगायतको निर्यात अवस्था खस्किंदै गएको छ ।
तेश्रोमा ७ अर्ब १८ करोड १० लाख रुपैयाँबराबरको ३९ लाख ८९ हजार किलोको हाराहारीमा नेपालको मौलिक उत्पादन ठूलो अलैंची भारतमा निर्यात भएको छ । यसैगरी चौथोमा अमेरिकामा भुँईमा ओछ्याउने कार्पेट ५ अर्ब ९६ करोड २७ लाख रुपैयाँबराबरको २८ लाख ७१ हजार स्क्वायर मिटर निर्यात भएको छ ।
त्यस्तै ६०० मिलिमिटर मोटाई भएको प्लेट आकारको रोल भएको फलाम र स्टिल निर्याात भएको छ । ५ अर्ब १३ करोड ८ लाख रुपैयाँबराबरको ४ करोड ५३ लाख ७ हजार किलो यस्तो रोल भएको फलाम र स्टिल भारतमा निर्यात भएको छ ।
यसैगरी ५ अर्ब १० करोड ३२ लाख रुपैयाँबराबरको १० करोड ६७ लाख ४७ हजार स्क्वायर मिटर फाइवरबाट बनेको ब्लिच नभएको बुनिएका कपडा भारतमा निर्यात भएको छ । त्यसै गरी फर्मेन्टेड नगरिएको विभिन्न प्रकारका मिक्स जुस ४ अर्ब ९३ करोड ३३ लाख रुपैयाँबराबरको ५ करोड ४४ लाख ८१ हजार लिटर भारतमै निर्यात भएको छ ।
तथ्याँकअनुसार ८५ प्रतिशत एकल धागो भएको पोलिस्टिर स्टेपल ४ अर्ब १४ करोड ९१ लाख रुपैयाँबराबरको १ करोड ६० लाख ७३ हजार किलो भारतमा निर्यात भएको छ । यसैगरी नेपालको मौलिक उत्पादन कालो चिया ३ अर्ब ६३ करोड ९३ लाख रुपैयाँबराबरको १ करोड ४० लाख ६० हजार किलो भारतमा निर्यात भएको छ ।
यस्तै ३ अर्ब ६० करोड ७८ लाख ७४ हजार रुपैयाँबराबरको १० करोड १२ लाख ९८ हजार किलो प्लाइउड भारतमा निर्यात भएको छ ।
यसैगरी अमेरिकामा ५ अर्ब ९६ करोड २७ लाख रुपैयाँबराबरको २ लाख ८७ हजार १ सय ४३ स्वायर मिटर कार्पेट र कुकुरले खाने डग चिउ(छुर्पी) ३ अर्ब ४९ करोड ७३ लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ८८ हजार २ सय ९० किलो निर्यात भएको छ ।
एघार महिनाको अवधीमा १ अर्ब ९९ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको ३ लाख २३ हजार मेट्रिक टन र सिमेन्टको क्लिंकर ६६ करोड ६१ लाख रुपैयाँको ४ लाख ८४ हजार ८ सय ५४ मेट्रिक टन भारतमा निर्यात भएको छ । पाम आयल भने ३ करोड ५ लाख रुपैयाँबराबरको १ लाख ५९ हजार ३ सय ४३ लिटरको हाराहारीमा भारतमा निर्यात भएको छ ।
नेपालले १ सय ६४ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सबैभन्दा बढी आयात निर्यातसम्बन्धी व्यापार भारतसँग गरेको छ ।
भारतबाट ९ खर्ब अर्ब १३ करोड ८० लाख रुपैयाँको विभिन्न सामान आयात गर्दा २ खर्ब ८९ करोड ८१ लाख रुपैयाँबराबरको विभिन्न सामान त्यो मुलुकमा निर्यात गरेको छ । वैदेशिक व्यापारमा भारतसँग नेपालको व्यापार घाटा अझै ७ खर्ब ७६ अर्ब २३ करोड ९९ लाख रुपैयाँबराबर छ ।
यस्तै दोश्रोमा अत्यधिक वैदेशिक व्यापार भएको मुलुकमा अमेरिका परेको छ । अमेरिकाबाट २३ अर्ब ९३ करोड ९८ लाख रुपैयाँबराबरको सामान आयात गर्दा १६ अर्ब ३१ करोड ४४ लाख रुपैयाँबराबरको विभिन्न वस्तु निर्यात गरेको छ । अमेरिकासँग नेपालको व्यापार घाटा ७ अर्ब ६२ करोड ५३ लाख रुपैयाँबराबर छ ।
यसैगरी जर्मनीबाट ५ अर्ब ८२ करोड ५७ लाख रुपैयाँको वस्तु आयात गर्दा त्यो मुलुकमा ३ अर्ब ८८ करोड २३ लाख रुपैयाँको विभिन्न वस्तु नेपालले निर्यात गरेको छ । जर्मनीसँग १ अर्ब ९४ करोड ३४ लाख रुपैयाँबराबरको नेपालले व्यापार घाटा व्यहोरेको छ ।
यस्तै चीनबाट ३ खर्ब १४ अर्ब ५७ करोड ५६ लाख रुपैयाँबराबरको विभिन्न वस्तु आयात गर्दा नेपालले त्यो मुलुकमा जम्मा २ अर्ब ४८ करोड १७ लाख रुपैयाँबराबरको वस्तु निर्यात गर्न सफल भएको छ । चीनसँग मात्रै ३ खर्ब १२ अर्ब ९ करोड ३९ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा नेपालले व्यहोरेको छ ।
प्रतिक्रिया