
काठमाडौं । केहि वर्ष अघिसम्म नेपालबाट निर्यात हुने वस्तुमा पाम आयल अग्रपंक्तिमा आउथ्यो । पछिल्लो १० वर्षको आयात निर्यातको तथ्यांकलाई विश्लेषण गर्ने हो भने निर्यातको अग्रपंक्तिमा रहेको पाम आयल विभिन्न प्राविधिक कारणले गर्दा विस्तारै ओरालो बाटोमा लाग्दै गएको पाइन्छ ।
निर्यातको सूचीमा पहिले अग्रपंक्तिमा नेपालको मौलिक उत्पादनले वर्चस्व कायम गर्दै गरेकोमा पछिल्लो दशकमा त्यसलाई विस्थापित गर्दै विस्तारै सर्वाधिक निर्यातमा पाम आयल उक्लिँदै गएको थियो । तर यो धेरे समयसम्म टिक्न सकेन ।
गुणस्तर टिकाउन नसक्नु र रातारात जसरी पनि उच्चतम नाफा गरेर अर्वपति बन्ने होडबाजीमा लागेका सीमित उद्योगी व्यवसायीको अप्रत्यक्ष स्वार्थका कारण पाम आयल जसरी निर्यातको उच्चतम विन्दुमा पुगेको थियो । पछिल्लो समयमा त्यसरी नै तल्लो अंकमा झर्दै गएको छ ।
पाम आयलको स्थान पछिल्लो समयमा तल झर्दै गएको अवस्थामा सोयाबिन आयल भने निर्यातमा अप्रत्याक्षित रुपमा छलाङ मारेको छ । अहिलेसम्मको निर्यातको इतिहासमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सोयाबिन आयल सर्वाधिक परिमाण र मूल्यको निर्यात भएको छ ।
पाम आयलको आयात र निर्यातको आकार खुम्चिँदै गर्दा अर्कोतर्फ भने सोयाविन तेल र सनफ्लावर तेलको निर्यातले इतिहास रच्न थालेको भन्सार विभागको तथ्यांकले पुष्टि गरेको छ ।
यो तथ्यांकले के देखाउँछ भने बाहिरी मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भ्यालु एडिसन गरेको आधारमा यस्ता वस्तुको निर्यात बढ्दै गएको छ भने अर्कोतर्फ विगतदेखि निर्यातको उच्चतम स्थानमा रहेको नेपालको आफ्नै मौलिक उत्पादन अलैची, कफी, चियालगायतको निर्यात खस्दै गएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा निर्यातको सूचीमा ३२ औ नम्बरमा परेको सोयाबिन आयल आश्चर्यजनक रुपमा चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा निर्यातको सूचीमा टप वानमा पुग्न सफल भएको छ ।
गतु आर्थिक वर्षमा निर्यातको टप वानमा अलैंची परेको थियो । त्यो वर्षमा अलैंची ७ अर्ब ९३ करोड ६६ लाख रुपैयाँबराबरको निर्यात हँदा निर्यातको ५ औं नम्बरमा पाम आयल परेको थियो भने सनफ्लावर आयल निर्यातको सूचीमा एक सयभन्दा बाहिर परेको थियो ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँबराबरको सोयाबिन तेल निर्यात भएर निर्यातको सूचीमा पहिलो नम्बरमा उक्लिएको छ भने दोस्रोमा सनफ्लावर आयल १० अर्ब ९ करोड ४९ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।
यस्तै विगतमा निर्यातको पहिलो नम्बरमा पर्दैआएको नेपालको मौलिक उत्पादन अलैंची भने तेश्रो नम्बर अर्थात ६ अर्ब ६६ करोड २५ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।
पाम आयल भने निर्यातको सूचीमा ४० औं नम्बरमा परेको थियो । १० महिनाको अवधिमा १ अर्ब ९३ करोड २६ लाख रुपैयाँबराबरको मात्रै पाम आयल निर्यात भएको छ ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा निर्याततर्फ पहिलो नम्बरमा पाम आयल परेको अवस्थामा दोस्रो निर्यात हुने वस्तुमा सोयाबिन आयल परेको थियो । त्यो वेला २० अर्ब ५० करोड ९१ लाख रुपैयाँ बराबरको पाम आयल निर्यात हुँदा सोयाबिन आयल ८ अर्ब ४७ करोड ५९ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । उता नेपालको मौलिक उत्पादन अलैंची भने तेश्रो नम्बरमा ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७८/७९ मा रकमको आधारमा निर्याततर्फ पहिलो नम्बरमा सोयाविन तेल पर्न सफल भएको थियो भने पाम आयल निर्यातको दोस्रो नम्बरमा परेको थियो । त्यो वर्ष ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँबराबरको सोयाविन तेल निर्यात हुँदा पाम आयल भने ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यस्तै अलैंचीको निर्यात सातौं नम्बरमा पुगेको थियो भने सनफ्लावर तेलको निर्यात आठौं नम्बरमा थियो ।
आर्थिक वर्ष २०७७/७८ मा निर्याततर्फ पहिलो नम्बरमा सोयाविन तेल पुग्दा पाम आयल भने निर्यातजन्य वस्तुको टप २ सयको सूचीमा समेत सहभागिता जनाउन सकेन । त्यो वर्ष ५३ अर्ब ६५ करोड ६३ लाख रुपैयाँबराबरको सोयाविन तेल निर्यात भएको थियो ।
दोस्रोमा अलैची ६ अर्ब ९२ करोड ४२ लाख रुपैयाँबराबरको निर्यात भएको थियो भने १० औं नम्बरमा सनफ्लावर आयल २ अर्ब २८ करोड ५७ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । यसैगरी पाम आयल ९ लाख रुपैयाँबराबरको मात्रै निर्यात भएर चित्त बुझाउनु पर्यो ।
आर्थिक वर्ष २०७६/७७ मा सर्वाधिक निर्यात हुने अग्रपक्तिमा पाम आयल परेको थियो । त्यो वेला १८ अर्ब ३४ करोड ५२ लाख रुपैयाँबराबरको पाम आयल भारतमा निर्यात हुँदा दोस्रोमा सबैभन्दा बढी मूल्यबराबरको सोयाविन आयल १२ अर्ब ७१ करोड ९३ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । उता सनफ्लावर आयल भने निर्यातको ९६ औं नम्बरमा पर्न सफल भएको थियो । त्यो वेला ११ करोड रुपैयाँबराबरको झिनो परिमाणमा यो तेल निर्यात भएको थियो ।

किन बढ्यो अप्रत्याक्षित रुपमा सोयाबिन तेलको निर्यात
पछिल्लो समयमा भारतमा सोयाबिनको उत्पादनमा गिरावट आएको छ । यस्तै सायोबिन तेलको आयात गर्दैआएको परिमाणमा पनि उल्लेख्य कमी आएको बताइएको छ ।
भारतमा पछिल्लो समयमा सोयाबिन बीउको उत्पादनमा कमी आएको छ । पछिल्लो समयमा करिब ५ लाख मेट्रिक सोयाबिन बीउको उत्पादनमा कमी आएको हो । अघिल्लो पटक १ करोड २४ लाख मेट्रिक टन उत्पादन भएको सोयाबिन बीउको उत्पादन पछिल्लो समयमा १ करोड १९ लाख मेट्रिक टनको हाराहारीमा मात्रै उत्पादन भएको छ । यसको प्रत्यक्ष असर त्यहाँको सोयाबिन तेल उत्पादन गर्ने औद्योगिक क्षेत्रमा परेको छ ।
यसले गर्दा सोयाबिन तेलको उत्पादन पनि घटेको छ । भारतमा सोयाबिन तेलको उत्पादन १७ लाख मेट्रिक टन भएपनि पछिल्लो समयमा यसमा करिब ६ लाख मेट्रिक टन उत्पादनसमेत घटेको छ ।
त्यस्तै भारतमा पछिल्लो समयमा सोयाबिन र सनफ्लावर तेलको आयात ६.५ प्रतिशतले घटेको भारतीय सञ्चारमाध्यमहरुले औल्याएको छ । यसरी हेर्दा भारतमा सोयाबिनको बिउको उत्पादनमा कमी आउँदा तेल उत्पादनमा कमी आएको र आयात पनि निक्कै कम भएकाले नेपालबाट भारतमा सोयाबिन र सनफ्लावर तेलको निर्यात उच्च परिमाणमा बढेको छ ।

यसले गर्दा घट्यो पाम आयलको निर्यात
भारतको आयात नीतिमा आएको परिवर्तन र विश्व बजारमा पाम तेलको बढ्दो प्रतिस्पर्धाका कारण नेपालमा पाम तेलको आयात तथा भारततर्फको निर्यात दुवैमा गिरावट आएको छ ।
नेपालका उद्योगीहरुका अनुसार उद्योगीले कच्चा पाम तेल आयात गरेर त्यसलाई प्रशोधन (परिष्कृत) गरी भारतमा निर्यात गर्दै आएका छन् । भारतले नेपालबाहेक अन्य मुलुकहरूबाट समेत पाम तेल आयात गर्न थालेको छ । यसले गर्दा नेपालमाथिको निर्भरता घटाएको छ ।
त्यस्तै भारतले कच्चा पाम तेलमा आयात शुल्क घटाएर आफ्ना रिफाइनरीलाई सोझै इन्डोनेसिया तथा मलेसियाबाट सस्तोमा पाम तेल ल्याउन सहज बनाएको छ । यसले गर्दा नेपाली व्यापारीहरूले पाएको मूल्य प्रतिस्पर्धात्मक लाभ घटाएको छ ।
भारतले कच्चा पाम तेलको आयात शुल्क घटाएपछि आफ्नै रिफाइनरीहरूले सस्तोमा तेल प्रशोधन गर्ने अवसर पाएका छन् । जसले नेपाली रिफाइनरीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा सुरु भएको छ । पछिल्लो समयमा भारतीय तेल प्रशोधन उत्पादकहरुले आफ्नो सरकारको उच्च तहमै नेपालबाट निर्यात हुने पाम आयल, सोयाबिन र सनफ्लावर आयलका कारण आफुहरुको उद्योग धरासायी हुने अवस्थामा पुगेको भन्दै नीतिगत व्यवस्था गरी नेपालको तेलमा रोक लगाउनुपर्ने चर्को लविङ गर्दैआएका छन् ।
नेपालमा पाम आयलको उत्पादन हुँदैन । मुख्यगरी इन्डोनेशिया र मलेसियाबाट कच्चा पाम आयल आयात गरी त्यसलाई प्रशोधन पश्चात भारतमा निर्यात गर्दैआएको छ ।
भारतको खाद्य तेल उद्योग प्रतिनिधि संस्था सोल्भेन्ट एक्स्ट्र्याक्टर्स एसोसिएशन अफ इन्डियाले प्रशोधित पाम आयलको आयात शुल्क ३२.५ प्रतिशतबाट बढाएर ४० प्रतिशत पु¥याउन सरकारलाई आग्रह गर्दैआएको छ ।
उनीहरूको भनाइमा नेपालसहित मलेसिया र इन्डोनेसियाबाट सस्तोमा आयात हुने प्रशोधित पाम आयलले घरेलु प्रशोधन उद्योगलाई असर पु¥याउँदै आएको छ ।
उद्योगीको दाबी भन्सारको नीतिले निर्यात घट्यो
उद्योगीले भने भन्सारको एचएस कोड विवादका कारण पाम आयलको आयात र निर्यात दुवै घटेको दावी गरेका छन् ।
उद्योगी बिपिन कावराले एचएस कोड विवादका कारण पछिल्लो डेढ बर्षयता पाम आयलको आयात र निर्यात दुवै अत्यधिक घटेको जानकारी दिए । राज्यले यो विवाद समाधान नगरेसम्म पाम आयलको आयात र निर्यात दुवै नबढ्ने उनको तर्क छ ।
‘राज्यको गलत नीतिका कारण पाम आयलको आयात र निर्यात दुवै करिब नभएकै बराबर छ,’ उद्योगी काबराले भने,‘यो विवाद टुङ्गो नलाग्दासम्म पहिलेकै अवस्थामा पाम आयलको आयात र निर्यात हुन सक्दैंन ।’
पाम आयलमा एचएस कोडसम्बन्धी के विवाद थियो बिषयमा भने उनले खुलेर बोल्न चाहेनन् ।
काँचो पाम आयलको बिषयमा अदालतमा मुद्दा चलिरहेको जानकारी दिदैं भन्सार विभागका सूचना अधिकारी कमलकुमार भट्टराईले उक्त मुद्दाका कारण पछिल्लो केहि समययता पाम आयलको आयात र निर्यात दुवै प्रभावित भएको जानकारी दिए ।
के हो भन्सार एचएस कोडको लफ्डा ?
गत वर्ष एक रिफाइनरी उद्योगीले नेपालमा आउने पाम आयल फ्रक्सनेशन गरिएको अर्थात एक तह प्रशोधन भएको अर्धतयारी ‘फिल्टर्ड’ भएर आउने रहष्य खोलेका थिए ।
ति उद्योगीले ‘अर्धतयारी’ रुपमा आउने पाम आयललाई भने उद्योगीले भन्सारमा ‘काँचो पाम आयल’ (क्रुड पाम आयल) वर्गीकरणमा पास हुने गरेको रहष्य खोलेका थिए ।
यो रहस्य खुलेपछि भन्सार विभागमा हल्लाखल्ला नै भएको थियो । त्यसपछि भन्सार विभागले नेपालमा तत्कालिन समयमा आयात भएको पाम आयलको परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा काँचो पाम आयलको नाममा आयात भएको तेल एक तह प्रशोधन गरी ‘फिल्टर्ड’ भएको पाइएको विभागको भनाई छ ।
उद्योगीले एउटा नाममा अर्को तेल ल्याएका कारण राज्यले ठूलो राजस्व छलि भएको तत्कालिन समयमा पुष्टि भएको विभागका अधिकारीहरुको भनाई छ । तत्कालिन समयमा उद्योगीको बदमासीका कारण राज्यले ५ प्रतिशत शुल्कबराबर करोडौं रुपैयाँबराबरको क्षति व्यहोर्न बाध्य भएको थियो ।
एक उद्योगीका अनुसार यो घटनापछि विभागले देशभरकै भन्सार कार्यालयलाई पत्राचार गरी आयात हुने पाम आयललाई विशिष्टीकृत चारित्रिक गुणको आधारमा वर्गीकरणमा राखेर मात्रै पास गर्ने नीति लिएको थियो ।
विभागले क्रुड पाम आयलका नाममा घोषणा भएका सम्पूर्ण वस्तुको विभागको प्रयोगशालामा परीक्षण गर्नुपर्ने र उक्त परीक्षणपश्चात प्राप्त हुने प्रतिवेदनको आधारमा मात्रै जाँचपास गर्ने नीति लिएपछि आयात र निर्यात प्रक्रिया प्रभावित हुन थालेको हो ।
एक तह प्रशोधन भएको अर्धतयारी पाम आयललाई काँचो पाम आयलको वर्गीकरणबाट हुने गरेको जाँचपास गर्न विभागले रोक लगाएको थियो ।
विभागले यो नीति लिएपछि पाम आयल उद्योगी उच्च अदालत पाटनका साथै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । हालसम्म यो मुद्दा अदालतमा बिचाराधिन अवस्थामा छ ।
उद्योगीहरुले एक तह प्रशोधन भएर आएको पाम आयललाई अर्धतयारी तेलको वर्गीकरण गर्नुपर्ने लविङ गर्दैआएका छन् । तर सरकारले यो बिषयमा कुनै व्यवस्था गरेको छैन । काँचो तेल र रिफाइन्ड तेल भनेर मात्रै भन्सारको एचएस कोड वर्गीकरण गरेको छ ।
प्रशोधित अर्ध तयारी वस्तुकै वर्गीकरणबाट तेश्रो मुलुकबाट आयात भएको वस्तुको पुनः प्रशोधन गरी तयार भएको पाम आयल फेरी त्यही वर्गीकरणबाट निर्यात गर्न समस्या भएको ति उद्योगीको भनाई छ ।
काँचो पाम तेल आयात गर्दा १० प्रतिशत डयुटी शुल्क लाग्छ भने एक तह प्रशोधन भएको तेल आयात गर्दा १५ प्रतिशत शुल्क लाग्छ ।
नयाँ व्यवस्थाअनुसार फ्रक्सेनशन (एक तह प्रशोधन भएको) पाम आयल आयात गर्दा १५ प्रतिशत शुल्क लाग्छ ।
नेपालमा बल्ल फ्रक्सनेशनको सुविधा
ति उद्योगीका अनुसार अहिलेसम्म नेपालका रिफायनरी उद्योगहरुसँग क्रुड पाम आयल पहिलो तहमा प्रशोधन गर्ने फ्रक्सनेशन सुविधा छैन ।
फ्रक्सनेशन सुविधा नभएको अवस्थामा उद्योगीले राज्यको आँखामा छारो हाल्दै एक तह फिल्टर्ड भएको पाम आयल ल्याएर सामान्य प्रशोधन गरी निर्यात गर्दैआएका थिए ।
उद्योगीले अहिलेसम्म क्रुड पाम आयलको एचएस कोडमा समावेश गरी फिल्टर्ड पाम आयल निर्यात गरेका कारण एक तह प्रशोधन भएर आउने तेलमा लाग्ने भन्सार शुल्क ५ प्रतिशतवापतको अर्बौ रकम गुमेको ति उद्योगीले बताएका छन् ।
‘सुराकीको आधारमा नेपालमा काँचो पाम आयलको साटो एक तह फिल्टर्ड भएको तेल आइरहेको पुष्टि भएपछि भन्सारले क्रुड आयलको सूचीको स्थानमा एक तह प्रशोधन भएको सूचीमा राखेर अतिरिक्त ५ प्रतिशत शुल्क लिन थाल्यो,’ ति उद्योगीले भने,‘यसले गर्दा पनि एकताका निर्यातको उत्कर्षमा पुगेको पाम आयलको अवस्था अहिले खस्किएको हो ।’
एक तह प्रशोधन भएको पाम आयल आयात गरी आवश्यक प्रशोधन पश्चात् निर्यात गर्ने बाटो अहिले प्रभावित भएको छ ।
नेपालमै पाम आयल फ्रक्सनेशन हँुदा सरकारलाई अतिरिक्त ५ प्रतिशत राजस्व प्राप्त हुनेछ ।
ति उद्योगीको भनाईलाई आरएमसी फूड्सले पछिल्लो समयमा प्रकाशित गरेको बिज्ञापनले पनि पुष्टि गरेको छ । आरएमसी फूड्सले जेठ ११ गते एउटा राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा बिज्ञापन प्रकाशित गर्दै नेपालमै पहिलो पटक फ्रक्सनेशन गर्ने प्लान्ट ल्याएर उच्चस्तरको पाम आयल उत्पादन गर्न लागेको बिषय सार्वजनिक गरेको थियो ।
उद्योगीका अुनसार यो प्लान्ट राख्न कम्तिमा साढे २ करोड भारतीय रुपैयाँ खर्च पर्छ ।
अहिले उद्योगीहरु क्रुड पाम आयल (गाढा लेदोयुक्त) नै आयात गर्न थालेका छन् । तर यो तेल निर्यात गर्न सकिन्न । गाढा लेदोयुक्त क्रुड पाम आयललाई खान योग्य बनाउन कम्तिमा फ्रक्सनेशन गर्नुपर्छ । जुन यो सुविधा हालसम्म कुनै उद्योगीसँग नभएको ति उद्योगीले जानकारी दिएका छन् ।
क्रुड पाम आयललाई फ्रक्सनेशन गरेपछि दुई प्रकारका सह उत्पादन प्राप्त हुन्छ । पहिलो पामओलिन (तरल) र दोस्रो पामस्टेरिन (ठोस) हो । पामस्टेरिन र पामओलिन खानपिन र अन्य उद्योगहरूमा प्रयोग हुने विशेष प्रकारका बोसोरहित वा बोसोयुक्त उत्पादनहरू बनाउन उपयोग हुन्छ ।
पामओलिन विस्कुट र चिप्सलगायतमा प्रयोग हुन्छ भने पामस्टेरिन वेकरी पदार्थमा प्रयोग हुन्छ । पामस्टेरिनमा सन्तृप्त बोसो (स्याचुरेटेड फ्याट) अत्याधिक हुन्छ ।
साफ्टाअन्तर्गत भारतमा उच्च परिमाणमा निर्यात
नेपालमा करिब ३५ वटा तेल प्रशोधन गर्ने उद्योग छन् । एउटा यस्तो उद्योग स्थापना गर्न कम्तिमा २ सय करोड रुपैयाँ लगानी गर्नुपर्छ ।
दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत डुयुटी फ्री कोटा फ्री सुविधा उपभोग गरी नेपालका उद्योगीले भारतमा पाम आयल, सोयाबिन आयल र सनफ्लावर आयल निर्यात गर्दैआएका छन् ।
उत्पादनमा कम्तिमा ३० प्रतिशत मूल्य अभिवृद्धि(भ्यालु एडिसन) भएको वस्तु मात्रै साफ्टाअन्तर्गत भारतमा निर्यात गर्न पाइने व्यवस्था छ । यो सुविधा उपभोग गरी भारतमा निर्यात गर्दा शुन्य भन्सार शुल्क लाग्छ ।
भारतको सीमावर्ती राज्यहरु बिहार, उत्तर प्रदेश र पश्चिम बंगालमा पाम आयल, सोयाबिन आयल र सनफ्लावर आयलको उच्च माग छ ।
नेपालले कच्चा पाम आयल आयात गर्दा १० प्रतिशत शुल्क तिर्नुपर्छ । उता भारतले अन्य मुलुकबाट आयात हुने कच्चा पाम आयलमा ४० प्रतिशतसम्म शुल्क लगाएको छ ।







प्रतिक्रिया