बथनाह-कटहरी कार्गो रेलमार्ग: स्टेशन र यार्ड निर्माणका लागि १५ वर्षपछि बाटो खुल्यो


विराटनगर । मुआब्जा विवादका कारण १५ वर्षदेखि निर्माण हुन नसकेको भारतको बथनाहदेखि नेपालको कटहरी कार्गो रेलवे मार्गको स्टेशन र यार्ड निर्माणका लागि बाटो खुलेको छ । यार्ड र स्टेशन मोरङको कटहरीमा निर्माण हुने छन् ।

सन् २०११ मा नेपाल–भारतबीच भएको दुईपक्षीय सम्झौताअनुसार भारतले बथनाहदेखि मोरङको कटहरीसम्म १८ दशमलव १ किलोमिटर रेलवे निर्माण गर्ने सहमति भएसँगै भारतीय रेलवे विभागअन्तर्गतको (इरकोन) कम्पनीले चार अर्ब भारु लागतमा निर्माण सुरु गरेको थियो ।

त्यसका लागि नेपाल पक्षले आवश्यक जमिन अधिग्रहण गर्ने र भारतीय पक्षले सन् २०१७ सम्ममा निर्माण सक्ने सम्झौता थियो ।

सर्वोच्च अदालतले जग्गाको मुआब्जा सम्बन्धी विचाराधीन मुद्दा १५ वर्षपछि टुंग्याएपछि स्टेशन र यार्ड निर्माणका लागि बाटो खुलेको हो । स्टेशन र यार्ड निर्माण हुने स्थान कटहरी–१ का २२ जना जग्गाधनीले आफ्ना जमिनको मुआब्जा कम भएको भन्दै ६ बिघा जमिनमा काम गर्न रोक लगाउँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि निर्माण अवरुद्ध भएको थियो ।

सर्वोच्चले मागदाबी नपुगेको भन्दै मुद्दा खारेज गरेपछि निर्माण कार्यले निरन्तरता पाउने भएको हो । यससँगै बुधनगरस्थित नेपाल कस्टम यार्डदेखि कटहरीसम्मको १० दशमलव १ किलोमिटर रेलवे ट्र्याकसमेत बिछ्याउने कामका लागि बाटो खुलेको छ । यसअघि मुआब्जा विवाद र कानुनी झमेलाले काम गर्न नपाएको भन्दै निर्माण कम्पनी इरकोनले काम छाडेर हिँडेको थियो ।

भारतको बथनाहदेखि नेपालको कटहरीसम्मको रेल्वे लम्बाइ १८ दशमलव १ किलोमिटर हो । भारततर्फ ५ किलोमिटर र नेपालको आइसीपीसम्म ३ किलोमिटर गरी ८ किलोमिटर रेलवे ट्र्याक निर्माण सम्पन्न भइसकेको छ । यसको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका समकक्ष नरेन्द्र मोदीले २०२३ जुन ८ मा नयाँ दिल्लीमा संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

उद्घाटनताका तेस्रो मुलुकबाट सिमेन्ट, कोइला, रासायनिक मल र क्लिंकर मात्र ढुवानी गर्न पाउने पारवहन सन्धीका कारण यो रेलमार्ग सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीका लागि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विराटनगरको भन्सार यार्डसम्म तेस्रो मुलुकबाट जुनसुकै औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान कार्गो रेलमार्फत आयात गर्न पाउने व्यवस्था सरकारले गरेको आश्वासन दिएका छन् ।

भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट तेस्रो मुलुकबाट जुनसुकै औद्योगिक कच्चा पदार्थ र उत्पादन विराटनगर भन्सार यार्डसम्म ढुवानी गर्न भारतले स्वीकृति दिएपछि नेपाल–भारत पारवहन सन्धीको अंगका रूपमा टुंग्याउने प्रक्रिया सुरु भएको जानकारी दिँदै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले चाँडै औद्योगिक कच्चा पदार्थ र उत्पादन कार्गो रेलमार्फत ढुवानी गर्न पाउने विश्वास दिलाएका छन् ।

रेलवे उद्घाटनको दिन यहाँको आरती स्ट्रिप्स उद्योगको कच्चा पदार्थ बोकेको कार्गो रेल आइसीपीसम्म आएको थियो । त्यसपछि यो आइसीपीसम्म कार्गो रेल फर्केर आएको छैन ।

कार्गो रेलमार्फत औद्योगिक कच्चा पदार्थ र उत्पादन ढुवानी गर्दा ट्रक र कन्टेनरको तुलनामा ३० देखि ४० प्रतिशतसम्म ढुवानी लागत कम लाग्ने यहाँका उद्योगी व्यवसायीको दाबी छ ।

नेपालस्थित भारतीय दूतावासले भारतीय रेलवे निर्माण कम्पनी इरकोनलाई जग्गाको मुआब्जाको समस्या समाधान भएको र अब विराटनगरको बुधनगरदेखि कटहरीसम्मको रेलवे ट्र्याक र रेलवे जक्सनको यार्ड बनाउन कुनै समस्या नरहेको भन्दै काम थाल्न पत्र पठाइसकेको छ ।

त्यसैगरी, काम सुरु गर्न रेलवे विभागले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । परराष्ट्रले भारतीय दूतावासलाई रेलवे निर्माणमा अब समस्या नरहेको र काम अघि बढाइदिन आग्रह गरेको थियो । नेपालस्थित भारतीय दूतावासबाट आफूले पत्र पाइसकेको र अब चाँडै टेन्डर प्रक्रिया सुरु हुने इरकोनका निर्देशक दीपक कुमारको भनाइ छ ।

उनका अनुसार आइसीपीबाट १० दशमलव १ किलोमिटर रेलवे ट्र्याक र कटहरीमा स्टेशनसहित यार्ड बनाउन टेन्डर प्रक्रियामा जाने र वर्षा सकिएलगत्तै निर्माणको काम सुरु गर्ने बताए । यसका लागि करिब ७० करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सर्वोच्च अदालतले मुआब्जा विवादको मुद्दामा दाबी नपुग्ने भन्दै खारेजी गरिदिएपछि स्टेशन बनाउने जग्गाको विवाद समाप्त भएकाले आफूले पटक–पटक रेलवे विभाग र मन्त्रालय धाउँदा बल्ल प्रमुख जिल्ला अधिकारीलाई कार्यादेश र भारतीय कम्पनी इरकोनलाई काम गर्न भारतीय दूतावासले पत्र पठाएपछि अब निर्माण कार्य पूरा हुनेमा आफू ढुक्क भएको बताएका छन् ।