रुपन्देहीमा २ अर्ब लगानीमा फ्रेन्च फ्राइ उद्योग खुल्यो, वर्षको २ हजार टन उत्पादन

1.1k
Shares

काठमाडौं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राइ उद्योग ‘फर्स्ट च्वाइस फुड’ सञ्चालनमा आएको छ।

गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ घर भइ बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् ।

काठमाडौंमा विहीबार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फर्स्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरे । आयात कम गर्ने र किसानलाई आत्मनिर्भर बनाएर अघि बढ्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याएको व्यवसायी पौडेलले बताए ।

अहिले वर्षको २ हजार टन उत्पादन गर्नेगरी उत्पादन भइरहेको र हरेक वर्ष बढाउँदै जाने लक्ष्य रहेको सञ्चालक पौडेलले जानकारी दिए । ५ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकारमात्रै उत्पादन गर्नेछ । त्यसैले १० हजार किसान उद्योगसँग जोडिएको र उनीहरुको उत्पादन आफ्नो उद्योगले किनिरहेको पौडेलले बताए ।

उनकाअनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जतिले उद्योगमा काम गरिरहेका छन् । अमेरिका, दुबई, साउदी अरब लगायतका तेस्रो मुलुकमा निर्यात गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

नेपाललाई फ्रेन्च फ्राइजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको पौडेलको भनाइ छ । यसले कृषिको व्यवसायिकीकरणमा मद्दत पुग्ने उनको विश्वास छ ।

अहिले उद्योगले भारतमा निर्यात गरिरहेको र मलेसिया, युएई र साउदी अरेबियामा निर्यात गर्ने तयारीमा रहेको पनि पौडेलले जानकारी दिए ।

उद्योगका लागि अहिले काठमाडौं, धरान, काठमाडौं, नेपालगञ्ज र दाङ गरी ५ ठाउँमा डिलर छन् भने देशभर ४ सय वटा रेष्टुरेष्ट पनि छन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निष्ठा र मेहनतका साथ काम गरेको खण्डमा जो कोहीले पनि चमत्कार गर्नसक्ने बताए ।

विदेशबाट खाली हात स्वदेश फर्किएका कृष्ण पौडेलको जीवन्त उदाहरण हेर्दा यसबारे स्पष्ट हुने उनको भनाइ छ । आलुको आयात प्रतिस्थापन गरेर स्वदेशमा रोजगारी सिर्जना गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ छ ।

‘एउटा निष्ठाका साथ र मेहनतका साथ र योजनाका साथमा लागिरह्यो भने हर कसैले चमत्कार गर्नसक्छ । यसको जीवन्त उदाहरण कृष्ण पौडेलजी र उहाँको कम्पनी हो । रित्तो हात लिएर स्वदेश फर्किएका युवाले स्वदेशमै भविष्य खोज्छ र रोजगारी सिर्जना गर्दछ । आलुको आयात प्रतिष्थापन गर्नसक्ने काम आज उहाँले गर्नुभएको छ ।’

कार्यक्रममा बोल्दै सांसद वासुदेव घिमिरेले बीउ वृद्धिका कार्यक्रमहरुमा सरकारले सहयोग गर्नुपर्ने बताए । आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गरेमात्रै उत्पादन फस्टाउने र किसानलाई सहयोग हुने उनको भनाइ छ ।

‘बीउ वृद्धिका कार्यक्रमहरु राम्रोसँग गर्न सकेका छैनौँ । अझै हामीलाई चाहिने आलुको बीउ वृद्धि कार्यक्रमलाई सरकारले पूर्ण रुपमा सहयोग गर्नुपर्छ । केही समय लाग्छ । सामान्य इन्स्योरेन्समा मात्रै अनुदान दिएर मात्रै पुग्दैन । सम्मानजनक बीउ वृद्धिमा सहयोग गर्नुपर्छ । समयमै नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सरकारको तर्फबाट भरपुर सहयोग गर्नुपर्छ,’ उनले भने ।