
काठमाडौं । देशभरका राष्ट्रिय राजमार्गमध्ये ४० वटा सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । ३५ सडक खण्ड दुईतर्फी र २ सडक खण्ड बिहिबारसम्म अवरुद्ध भएर सञ्चालन हुन सकेको छैन ।
सडक विभागका अनुसार पछिल्लो समयमा अविरल वर्षले बाढी र पहिरो आउँदा प्रभावित भएका ४० सडक खण्डको पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।
बाढी पहिरोका कारण एक राजमार्गको एउटा पुललाई समेत क्षति पुर्याएको छ ।
विभागका अनुसार बिहीबारसम्म सडक डिभिजन चरिकोटअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकको लार्चा खण्ड सवारी अवागमन अवरुद्ध छ ।
पहिरोले क्षति पुर्याएपछि त्यो स्थानमा मर्मत सम्भार गरेर बाटो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । त्यस्तै सोहि खण्ड खण्डको कोदारी खण्ड पनि अवरुद्ध भएको छ । बिहिबारसम्म यो खण्ड पनि सुचारु हुन सकेको छैन ।
सडक विभागका अनुसार कालिगण्डकी कोरिडोर(बेनी–जोमसोम कोरला सडक योजना) अन्तर्गत तानसेन–रिडी–कोरला राजमार्गको म्याग्दीस्थित रुप्से खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।
यस्तै उत्तर–दक्षिण(कालिगण्डकी) लोकमार्ग आयोजनाअन्तर्गत तानसेन–रिडी– कोरला राजमार्गको गुल्मीस्थित राक्स्या पनि अवरुद्ध भएको छ । त्यहाँ पनि अहिले एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
विभागका उपमहानिर्देशक प्रभात झाका अनुसार सडक डिभिजन भक्तपुरअन्तर्गत पूर्व–पश्चिम(महेन्द्र) राजमार्गको चितवनस्थित विनयी खोलास्थित सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । त्यहाँ पनि पहिरो पन्छाएर एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
यसैगरी सडक डिभिजन चरिकोटअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी(अरनिको राजमार्गं) को सिन्धुपाल्चोक जिल्लास्थित कोपलाङमा पनि एकतर्फी सवारी साधन सुचारु गरिएको छ । यसैगरी सडक डिभिजन भरतपुरअन्तर्गत पूर्व–पश्चिम(महेन्द्र) राजमार्गको नवलपुर जिल्लाको नियी खोलामा पनि एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
यस्तै सडक डिभिजन चरिकोट अन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी(अरनिको) राजमार्ग को सिन्धुपाल्चोकस्थित बसेरी स्थानमा पनि एकतर्फी यातायात सुचारु भएको छ । सोही राजमार्गको सिन्धुपाल्चोक जिल्लास्थित लार्चा खण्डमा पनि एकतर्फी यातायात सुचारु भएको छ ।
कान्ति राजमार्ग सडक योजनाअन्तर्गत हेटौडा–वागमती–टिकाभैरव–भैसेपाटी–एकान्तकुनाको ललितपुरस्थित बलुवावासमा पनि एकतर्फी सवारी साधन सुचारु गरिएको छ ।
उत्तर–दक्षिण(कालिगण्डकी) लोकमार्ग अन्तर्गत तानसेन–रिडी–कोरलाको बाग्लुङको माझाबगर र कुइधान, गुल्मी जिल्लास्थित बरल्वा, घुमाउने, डांगढुंगे डांडा, पातिखोला पुर्तिघाट, बादेखोला कनौटा, बेलटारी, होस्मारी झरना, बौद्धिखोला, बौद्धिखोला अर्बनी, लत्रेभिर, बडहरे खोला पाँदीस्थित सडक खण्ड पनि पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
यस्तै सडक डिभिजन चरिकोट राजमार्गस्थित काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी(अरनिको) खण्डको सिन्धुपाल्चौकको कोदारी, कान्ति रागमार्ग सडकअन्तर्गत ललितपुरको टाकुर्चे, छापेली, भेरी कोरिडर(जाजरकोट–दुनै–मरिम–तिन्जे( सडक अन्तर्गत छिन्छु–कदु–जाजरकोट–दुनै–धोतिन्जे –मरिम खण्डको डोल्पाको चिप्लेखोला, सडक डिभिजन शिवपुरअन्तर्गत तौलिहवा–गोरुसिङ्गे –सन्धिखर्कको अर्घाखाँचीस्थित घुम्तिलगायतका स्थानमा बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक पहिरो पन्छाएर एकतर्फी खुला गरिएको छ ।
आठ स्थानमा २७७ उपकरण तयारी अवस्थामा
विभागका प्रवक्ता प्रभात झाकाअनुसार बर्षातको मौसम सुरु भएको छ । बर्षाका कारण आउने बाढी र पहिरोले सडक खण्डहरु अवरुद्ध पार्न सक्छ ।
यसले गर्दा यात्रुलाई एक स्थानबाट अर्को स्थानमा अवागमन गर्न हुने कष्टकर यात्रा र कठिनाईलाई न्युनिकरण गर्ने उद्देश्यले देशभरका आठ स्थानमा विभिन्न प्रकारका सानादेखि ठूला उपकरणहरु तयारी अवस्थामा राखिएका छन् ।
‘बढी जोखिम हुने राष्ट्रिय र प्रमुख राजमार्गलाई केन्द्रित गरी जोखिम नियन्त्रणका कार्ययोजना बनाएर त्यस्ता उपकरणहरु तयारी अवस्थामा राखेका छौं,’ प्रवक्ता झाले भने,‘बाढी र पहिरोका कारण अवरुद्ध हुने सडक खण्डलाई तत्कालै खुलाएर यातायात सुचारु गराउनका लागि हरसम्भव प्रयास गर्ने योजनासहित उपकरण तयारी अवस्थामा राखिएको हो ।’
बाढी पहिरोका कारण अवरुद्ध हुने सडक खण्डको पहिरो पन्छाएर सडकमार्गहरु सुचारु गर्नका लागि विभागले विभिन्न आठ स्थानमा २७७ वटा साना ठूला उपकरणहरु हेभी इक्वीपमेन्ट डिभिजन अन्तर्गत तयारी अवस्थामा राखेको छ । यसमध्ये विभिन्न साइटमा १५४ वटा र हेभि इक्वीपमेन्ट डिभिजनहरुमा १२३ वटा तयारी अवस्थामा राखिएको छ ।
यस्ता उपकरणमा व्याकहोइ लोडर, डोजर ट्रयाक, एक्साभेटेर ट्रयाक, एक्साभेटेर व्हील, व्हील लोडर, मोटर ग्रेडर, मिनी एक्साभेटर, एयर कम्प्रेसर, क्रेन, क्रेन माउन्टेड ट्रक, , फ्ल्याट वेड ट्रक, लोवेड ट्रक, वाटर ट्याँक, मोवाइल क्रेन, टिपर ट्रक, मिनी टिपर, ट्रेलर र ट्रान्सपोर्टरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ ।
विभागका प्रवक्ता प्रभात झाका अनुसार सबैभन्दा बढी काठमाडौंस्थित ५३ वटा यस्ता उपकरणहरु तयारी अवस्थामा राखिएको छ । यस्तै इटहरीस्थित ४२ वटा, जनकपुरस्थित ३३, हेटौडास्थित २५, पोखरास्थित ३५, बुटवलस्थित २४, नेपालगञ्जस्थित ३३ र गोदावरीस्थित ३२ वटा यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ ।
विभागका अनुसार यसरी तयारी अवस्थामा ६३ व्याकहोइ लोडर, ६ वटा डोजर ट्रयाक, ३६ वटा एक्साभेटर ट्रयाक, १० वटा एक्साभेटर व्हील, ७१ वटा व्हील लोडर, २ वटा मोटर ग्रेडर, १ वटा मिनी एक्साभेटर, २ वटा एयर कम्प्रेसर, क्रेन १, क्रेन माउन्टेड ट्रक ६, फ्ल्याट वेड ट्रक ४, लोवेड ट्रक १, वाटर ट्याँकर १, मोवाइल क्रेन २, टिपर ट्रक ४५, मिनी टिपर ३, ट्रेलर ८ र ट्रान्सपोर्टर १५ वटा तयारी अवस्थामा राखिएको छ ।
बाढी पहिरोका कारण अवरुद्ध हुने सडकलाई तत्कालै सञ्चालनमा ल्याउनका लागि सरकारले यो बर्ष १३ करोड रुपैयाँ बिनियोजन गरेको छ ।








प्रतिक्रिया