
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा ५ अर्ब ३९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा ९ अर्ब २६ करोड रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००३ मा स्थापना भएको कम्पनी सन् २०१५ को जुलाइमा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । लक्की ग्रुप, शारदा ग्रुप र गोयल ग्रुपसहित अन्य व्यक्तिहरुको लगानी रहेको कम्पनीले ओपीसी सिमेन्ट शिवम् ब्राण्डमा बिक्री गर्दै आएको छ।
कम्पनीले क्लिंकर उत्खनन गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम्ले शिवम् होल्डिङको ८५ प्रतिशत स्वामित्व ओगटेको छ । नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग शिवम्को होङ्सी शिवम् सिमेन्टमा ३० प्रतिशत स्वामित्व छ । होङ्सी सिमेन्ट कम्पनीमा चीनको होङ्सी ग्रुपको लगानी रहेको छ । कम्पनीले जोइन्ट भेन्चरमा उद्योग सञ्चालन गरी नेपाली बजारमा व्यापार गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड २८ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीअनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा व्यापार रिबाउन्ड भएको जनाएको छ । सन् २०२५ को ९ महिनाको अवधिमा कम्पनीको व्यापार ८.४ प्रतिशतले बढेको उल्लेख छ । प्रतिवर्ष ६ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ९ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको कम्पनीले नेपाली बजारमा ओपीसी सेग्मेन्टको सिमेन्टको व्यापार गर्दै आएको छ । कम्पनीले ओपीसी सिमेन्टको सबैभन्दा बढी व्यापार गर्ने कम्पनी पनि हो ।







प्रतिक्रिया