बोन ट्राभल एण्ड टुर्सले एकै वर्ष गर्‍यो साढे ४ अर्बको व्यापार


काठमाडौं । बोन ट्राभल एण्ड टुर्स प्रालिले एकै वर्ष करिब साढे ४ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब ३४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ३ अर्ब ८२ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ४३ करोड रुपैयाँको कारोबार गरेको थियो । आन्तरिक तथा बाह्य अन्तर्राष्ट्रिय उडानको टिकट सुविधा दिँदै आएको कम्पनीले व्यापार सन् २०२४ मा ३४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीअनुसार पछिल्लो ३ वर्षमा निरन्तर ३४ प्रतिशतले व्यापार बढेको छ ।

कम्पनीअनुसार सन् २०२४ मा हवाई टिकटको बिक्री उच्च भएको र हवाई भाडामा वृद्धि हुँदा कारोबार बढेको हो । हवाई टिकटको सुविधा दिने क्षेत्रमा उच्च प्रतिस्पर्धा भएकाले सन् २०२४ मा १ करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको जनाएको छ । सन् २०२३ मा १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विश्वभर २ सय एजेन्ट र सब–एजेन्ट छन् । कम्पनीले अल्पकालीन कर्जाका लागि ५३ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीका अध्यक्ष विनोदराज पौडेल हुन् ।