
काठमाडौं । बैंकले ग्राहकलाई दिएको क्रेडिट कार्ड र फोनलोनको सुविधा प्रयोग गरेर समयमा नै ऋण चुक्ता नगर्ने ग्राहकको धमाधम तीनपुस्ते विवरण सार्वजनिक हुन गर्न थालेको छ । बैंकबाट सेवा सुविधा लिने र समयमा नै चुक्ता नगर्ने ग्राहकलाई सार्वजनिक सूचना प्रकाशन गरेर सचेत गराउन थालिएको छ।
लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नै चुक्ता नगर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ । बैंकले फोनलोन लिने ऋणीलाई कर्जा चुक्ता गर्न आउन ३५ दिनको समय दिएको छ । सो समयभित्र कर्जा चुक्ता नगर्ने ऋणीलाई कालोसूचीमा राखेर कारवाहीसहित आवश्यक कानूनी प्रक्रिया पूरा गरेर बैंकले लिनुपर्ने रकम अशुल गर्ने सूचना जारी गरेको छ ।

बैंकबाट फोनलोनका सुविधा लिने ५० जना ग्राहकले फोनलोनको पैसा फिर्ता गरेका छैनन् । बैंकले फोनलोनको सुविधा २ लाख रुपैयाँसम्मको लागि दिएको छ। बैंकले नियमित आम्दानी भएका ग्राहकलाई यस्तो सुविधा दिने गरेको छ। यो सुविधा ग्राहकले न्यूनतम तीन महिनादेखि एक वर्षसम्मको किस्ताबन्दीमा तिर्न पाउँछन् ।
लक्ष्मी सनराइजले बुधबार थप ४८ जना ग्राहकले क्रेडिकार्डको सुविधा प्रयोग गरेको र त्यसको उक्त रकम भुक्तान नगरेको भन्दै तीन पुस्ते विवरण सार्वजनिक गरेको छ । बैंकले ३५ दिन भित्र उक्त रकम चुक्ता नगर्ने ग्राहकलाई कालोसूचीमा राखेर कारवाहीसहित बैंकले लिनुपर्ने रकम अशुल गर्ने पनि उल्लेख गरेको छ ।

बैंकहरुले तलब लिने कर्मचारीहरूको ६ महिनाको तलबको आधारमा १ लाखसम्म र कतिपयले २ लाखसम्म पनि ऋण लगानी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले ५ लाखसम्म डिजिटल लोन प्रवाह गर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन २०७८ नै जारी गर्दै ५ लाखसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।
विद्युतीय कर्जाको सीमा र समयावधि बैंक तथा वित्तीय संस्थाहरूमा तलबी खाता रहेका वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिने बताएको छ ।
त्यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्मको रहनुका साथै, कर्जा प्रदान गर्दा फिर्ता भुक्तानी गर्दा एकै पटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने व्यवस्था छ ।








प्रतिक्रिया