
काठमाडौं । पर्सास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध दुई करोड ५२ लाख रुपैयाँ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मंगलबार दायर मुद्दामा आयोगले गौतमले पदमा रहँदा मर्यादाविपरीत कार्य गरी उल्लेख्य मात्रामा अवैध सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। सार्वजनिक पदमा रहेर २०५५ साल वैशाख ७ देखि २०७९ साल चैत २४ सम्मको आम्दानी–खर्च विवरणको विश्लेषणमा उनीमाथि गम्भीर अनियमितताको आशंका देखिएको आयोगको दाबी छ।
आयोगका अनुसार गौतमले सो अवधिमा वैध स्रोतबाट जम्मा दुई करोड ८९ लाख २० हजार २६८ रुपैयाँको आम्दानी गरेको देखिएको छ। यो आम्दानी पारिश्रमिक बचत, श्रीमती सरला नेपालको तलब तथा भ्रमण भत्ता, घर-जग्गा बिक्री, बैंक ऋण, शेयर र सवारी साधन बिक्री, विमा, कृषि, घरभाडा तथा बैंक ब्याजलगायतबाट प्राप्त भएको हो।
तर उक्त अवधिमा उनले आफन्तको नाममा घर निर्माण, जग्गा खरिद, गाडी किन्ने, बीमा भुक्तानी, अध्ययन खर्च, ऋण चुक्ता, सुन खरिद लगायतका शीर्षकमा पाँच करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ खर्च तथा लगानी गरेका छन्।
आम्दानी र खर्चको अन्तर विश्लेषण गर्दा गौतमसँग दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति रहेको अख्तियारको निष्कर्ष छ। यही रकमलाई गैरकानुनी सम्पत्ति मानी बिगोको रूपमा कायम गर्दै मुद्दा दायर गरिएको हो।
साथै, राष्ट्रसेवक पदमा रहँदा प्रत्येक वर्ष पेश गर्नुपर्ने सम्पत्ति विवरणमा झुठ्ठा तथा अपुरो विवरण पेस गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ।
गौतमले अवैध सम्पत्तिको केही हिस्सा श्रीमती सरला नेपालको नाममा राखेको पाइएको हुँदा बिगो जफत प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।








प्रतिक्रिया