पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आफूलाई जारी भएको पक्राउ पुर्जीविरुद्ध पाठकले दिएको निवेदनमा न्यायाधीश ऋषिराज भडारीको इजलासले दुवै पक्षलाई असार ५ गतेका लागि छलफलका लागि बोलाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउका लागि जारी पुर्जीविरुद्ध उनले सोमबार निवेदन दिएका हुन् ।

पाठकले आफ्नो युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री प्रसारण गरेपछि परेको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

जयवीरले आफूविरुद्ध निराधार र कपोकल्पित सामग्री निर्माण गरेर सार्वजनिक गरिएको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरी अनुसन्धान अगाडि बढाइएको हो ।

यस प्रकरणमा सञ्चार क्षेत्रका विभिन्न संघ–संस्थाहरूले पाठकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल स्थगन गर्न माग गर्दै पत्रकारिता स्वतन्त्रताको संरक्षणको माग गरेका छन् ।