‘सबैलाई अलविदा’ भन्दै फेसबुकमा सुसाइड नोट लेखेर डाक्टर बेपत्ता, खोज्दै प्रहरी


काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठ सामाजिक सञ्जालमार्फत ‘सुसाइड नोट’ लेख्दै बेपत्ता भएका छन् । श्रेष्ठको खोजीमा काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन गरिएको छ ।

श्रेष्ठले सोमबार बिहान आफ्नो फेसबुकमा एक लामो स्टाटस लेख्दै आफू अन्यायमा परेको, जीवनबाट हार खाएको र अब बाँच्छु भन्ने आशा नरहेको उल्लेख गरेका छन् । त्यसपछि उनी सम्पर्कविहीन भएका हुन् ।

प्रहरीका अनुसार श्रेष्ठको मोबाइल अन्तिमपटक काठमाडौंको गोपिकृष्ण हल क्षेत्रमै सक्रिय देखिएको थियो । त्यही आधारमा प्रहरीले उक्त क्षेत्रमा सिसीटिभी फुटेज संकलन गरी विश्लेषण गरिरहेको छ। स्रोतका अनुसार श्रेष्ठको मोबाइल बन्द छ भने उनकी पत्नीको मोबाइल पनि सम्पर्कविहीन छ।

श्रेष्ठले लेखेको सुसाइड नोटमा करार सेवाबाट सुरु गरेर नेपाल प्रहरी हुँदै बागमती प्रदेश लोकसेवाबाट स्थायी पदमा प्रतिस्पर्धा गरेर सफल भएर रामेछाप जिल्ला अस्पतालमा करिब २५ महिना सेवा दिए। यसमध्ये १८ महिना उनले निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्य गरे।

उनले अस्पताल सुधारका लागि दिनरात खटिएको बताउँदै लेखेका छन्, “म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागा–भाग हुन थाल्यो।” उनका अनुसार अस्पतालमा सुधार ल्याउने क्रममा केही कर्मचारी, स्थानीय र डाक्टरहरूको मिलेमतोमा आफूमाथि झुठा आरोप लगाइएका थिए।

श्रेष्ठले वडानम्बर–८ का केदार कार्कीले आफन्तलाई जागिर नलगाएको र मागेको पैसा नदिएको निहुँमा प्रतिशोध साँधेको आरोप लगाएका छन्। कार्कीले कारबाहीमा परेका केही डाक्टरमार्फत आफूविरुद्ध योजना बनाएको उनको दाबी छ।

‘उसले होटलको बिल तिराउन खोज्यो, विज्ञापन गर्दा आफ्ना मान्छेलाई राख्न दबाब दियो, कार्यकक्षमा नबस्ने, बाहिर ल्याबसँग कमिशनको डिल गर्ने—त्यस्ता गतिविधिबाट टाढा रहँदा मलाई टार्गेट गरियो,’ श्रेष्ठले लेखेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयका मन्त्री र सचिवलाई आफ्ना गुनासो राख्दा सुनुवाइ नभएको गुनासो गरेका छन्। ‘१६ वटा टाँकासहित राति ९ बजे श्रीमती र दुई वर्षकी छोरीसहित रामेछापबाट काठमाडौं आउन बाध्य पारियो, तर हेटौंडा पठाएर हाजिर गर्न पनि दिइएन,’ उनले लेखेका छन् । मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलमाथि गाडी खोसेको आरोप समेत श्रेष्ठले लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालका अनुसार डा. श्रेष्ठमाथि एक महिला चिकित्सकले लिखित उजुरी दिएकी थिइन्। सोही आधारमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयले परिस्थिति बिग्रिन नदिनका लागि उनलाई मन्त्रालयमा तानेको बताइएको छ।

उनको सुसाइड नोट सार्वजनिक भएपछि सबै सुरक्षा निकाय सतर्क छन्। प्रहरी स्रोतका अनुसार, उनलाई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा देखिएको भन्ने सूचनाका आधारमा खोजी जारी छ। हालसम्म भने उनी सम्पर्कमा आएका छैनन्।

सामाजिक सञ्जालमा लेखिएको स्टाटसको अन्त्यमा डा. श्रेष्ठले आफ्नी आमा, श्रीमती, छोरी, भाइबुहारी, बहिनी र भान्जीसँग माफी मागेका छन्। उनले ‘वान म्यान आर्मी’ भनेर चिनिए पनि अब मानसिक रूपमा थकित र विक्षिप्त बनेको उल्लेख गर्दै न्याय नपाएको पीडामा आफूलाई अन्तिम कदम चाल्न बाध्य बनाइएको बताएका छन्।

प्रहरीले उनको सकुशल अवस्था पत्ता लगाउन तिव्र खोजी जारी राखेको जनाएको छ ।

Skip This