अन्य देशमा भन्दा भारतमा बढी रोजगारी सिर्जना, सफ्‌टवेयर विकासमा जागिरको अवसर बढी


रोजगारदाताहरूले कर्मचारी चाहिएको भनी विज्ञापन गर्ने इन्डीड नामक प्ल्याटफर्मले हालै प्रकाशित गरेको आँकडाअनुसार अन्य मुलुकहरूको तुलनामा भारतमा बढी रोजगारी सिर्जना भएको देखिएको छ ।

दी इकोनोमिक टाइम्समा प्रकाशित समाचारअनुसार, भारतमा गत मे महिनामा ८.९ प्रतिशत बढी रोजगारी सिर्जना भएको थियो जबकि त्यसअघिको ८ महिनासम्म लगातार गिरावट आएको थियो ।

तर यो एक वर्षअघिको तुलनामा १.८ प्रतिशत कम हो र चरम अवस्थामा पुग्दा १६ प्रतिशत भएकोमा त्यसभन्दा कम हो ।

रोजगारी सिर्जनामा विश्वव्यापी कमी आइरहेको अवस्थामा भारतमा कोभिड महामारीअघिको भन्दा ८० प्रतिशत बढी रोजगारी सिर्जना भएको छ । संसारका प्रमुख अर्थतन्त्रहरूको तुलनामा यो उच्च आँकडा हो ।

बेलायत, न्युजील्यान्ड र स्विट्जरल्यान्ड जस्ता मुलुकमा अहिले पनि कोभिड महामारी अघिको समयभन्दा कम संख्यामा रोजगारी सिर्जना भइरहेका छन् । त्यसको तुलनामा भारतमा रोजगारी बढेको छ ।

भारतमा बालबालिकाको स्याहारमा २७ प्रतिशत बढी रोजगारी सिर्जना भएको छ भने व्यक्तिगत स्वास्थ्य सेवामा २५ प्रतिशत, शिक्षामा २४ प्रतिशत र उत्पादन क्षेत्रमा २२ प्रतिशत रोजगारी बढेको छ ।

तर, दन्तचिकित्सकको रोजगारी विगत तीन महिनामा १०.२ प्रतिशतले घटेको छ भने कृषि र वनमा ८.६ प्रतिशत, समुदाय र सामाजिक सेवामा ६.८ प्रतिशत र सफ्‌टवेयर विकासमा ४.२ प्रतिशतको गिरावट देखिएको छ ।

हालैका दिनमा सफ्‌टवेयर विकासमा रोजगारी घटेको भए पनि उक्त क्षेत्रले अहिले पनि सबभन्दा बढी रोजगारीको अवसर दिइरहेको छ । इन्डीडमा खुलेका भारतीय रोजगारीका सूचनामा २० प्रतिशत सफ्‌टवेयर डिभलपमेन्टसँगै सम्बन्धित छन् ।

भारतको औपचारिक अर्थतन्त्रमा प्रविधि क्षेत्रको योगदान कति महत्त्वपूर्ण छ भन्ने कुरा यसबाट प्रमाणित हुन्छ । बहुराष्ट्रिय कम्पनीहरूले भारतको प्रतिभालाई उपयोग गर्न हानथाप गरिरहेका छन् ।

२०२५ मे महिनाको आँकडाले देखाएअनुसार, १.५ प्रतिशत भारतीय रोजगारदाताहरूले कार्य विवरणमा जेनेरेटिभ एआईलाई उल्लेख गर्ने गरेका छन् । गत वर्षको तुलनामा यो दोब्बरभन्दा बढीको संख्या हो ।